धनुषामा मलको कृत्रिम हाहाकारको अवस्था छ । किसानलाई खेतमा मल चाहिएको बेला व्यवसायी तथा सहकारीहरुले कालोबजारी गर्ने उद्देश्यले कृत्रिम हाहाकारको अवस्था सिर्जना गरेको हो ।
ती व्यापारीहरुले नै कालोबजारीमा चोरबाटोबाट विक्रि गरी रहेको पाइएको छ । सबैला नगरपालिकाले अनुमति दिएको सोनी उपभोक्ता सहकारीले पनि कालोबजारी गरेको आरोप लागेको छ । उनले २४ सयपर्ने खाद्य ३ हजारमा किसानलाई विक्रि गरेको पाइएको छ । मलको हाहाकार भएको भन्दै उनले किसानलाई ठगी रहेका छन् । ‘नजिकैको डिलरमा धाउँदा धाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि निरास भएर रित्तो हात घर फर्किए,’श्याम यादवले भने,‘धानमा मल छर्ने बेला मल पाउन सकिएको छैन । तर कालो बजारीमा त्यही डिलरले विक्रि गरिरहेका छन् ।’ किसानहरुले मल नपाएपछि नगर प्रमुख कारी यादवलाई ध्यानाकर्षण गराएको थियो । प्रमुख यादवले पहल गर्ने बताएर समस्या समाधान नगरी पञ्छिएका छन् ।
यी समस्या मधेश प्रदेशको प्रायः जिल्लामा छन् । वर्षा भएको बेला किसानले मल नपाउनु र मल पाएको बेला पानी अभावजस्ता समस्या किसानले वर्षौदेखि झेल्दै आएका छन् । जल र मलको पीडाले मधेशका किसान पिरोलिएका छन् । धान खेतीका लागि नभइ नहुने रासायनिक मल आउने अझै टुंगो छैन । रोपाइँका बेला चाहिने युरिया, डिएपी र पोटास मलको पत्तो नहुँदा मधेशका अधिकांश किसान रोपाइँ गर्न सकेका छैनन् भने रोपाई भएको धान मल अभावमा बिग्रिन थालेका छन् । किसानलाई तत्काल मल अत्यावश्यक छ । तर किसानले मल पाउन भारत वा कालोबजारी बाहेकका विकल्प छैन् । किसानले समयमा मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चित रहेको किसानहरुको चिन्ता छ ।

