जनकपुरधामसहित मधेश प्रदेशको घरघरमा ‘लगपाँच’ पर्व मनाइएको छ ।
मंगलबार सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरी श्रद्धापुर्वक मनाइएको हो । यी पर्वले मिथिला क्षेत्रमा चाडपर्व सुरु भएको सूचकको रुपमा पनि मानिएको छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिएको थियो । घरमुली गृहिणीले ‘लगपाँच’ का दिन विहानै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाएका थिए । साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको पण्डित गणेश झा बताउँछन् । पर्वमा घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा कोरिएको (बनाइएको) चित्र पनि टाँसिन्छ ।
घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकार गर्छन् । ‘लगपाँच’ सकिए लगत्तै राखी (रक्षावन्धन), त्यसलगत्तै कुशे अमावश्या (कुशेऔशी), चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ, दिवाली (दिपावली, तिहार) र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्वसूचना मानिएको छ । हिन्दू परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको पण्डित झा बताउछन् । हिन्दू मैथिल परम्परामा विभिन्न जीव र वनस्पतिको पूजा आराधना तिनको महत्व झल्कने समय (ऋतु, महिना) अनुसार गरिने चलन रहेको उनको भनाइ छ ।

