सङ्घीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मधेस प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अब सङ्घीय सरकारबिरुद्ध मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको घोषणा गरेका छन । प्रदेश सरकारको तर्फबाट यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका नेताहरूलाई समेत ज्ञापन पत्र बुझाएता पनि सङ्घीय सरकारले समायोजन गर्नका लागि कुनै चासो नदेखाएको आरोप लगाउँदै मन्त्री साहले अब चरणबद्ध आन्दोलन गर्नुको बिकल्प नरहेको बताउनुभयो ।
साउन २२ गते प्रदेशमा रहेका सबै दलका प्रदेश सभा सदस्यसहित सबै मन्त्रीको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने मन्त्री साहले बताए । सात दिने अल्टिमेटमसहित दिइने ज्ञापनपछि पनि सरकारले प्रहरी समायोजन नगरे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने उनले बताए । प्रदेशका सबै राजनीतिक दलको बैठकबाट नै यस्तो निर्णय गरिएको बताउँदै मन्त्री साहले आफूहरूको आन्दोलनमा प्रदेशका हरेक राजनीतिक दलको समर्थन र सहयोग रहने बताउनुभयो ।

