२०७९ श्रावण १९, बिहीबार ०७:०६

पुनर्जन्मको अर्थ हुन्छ मरेर फेरि जन्म लिनु वा शरीर धारण गर्नु हो । हाम्रो सामाजिक मान्यता अनुसार मानिस मर्दा उसको शरीर मात्रै मरेर जान्छ आत्मा कहिले पनि मर्दैन । आत्माको सम्बन्धमा के धारणा छ भने कामको आधारमा पुनः शरीरमा धारण भइ जन्मन्छ । सबै आत्मा जन्मै लिन्छ भने ग्यारेन्टी छैन । कतिले यस जन्म मरणको बन्धनबाट मुक्ति पाउँछ अर्थात छुटिन जान्छ जसलाई मोक्ष भनिन्छ । हाम्रो शास्त्रले पनि यसलाई मान्यता दिएको छ कि मानिसको जन्म÷मरण कर्मको आधारमा हुँदो रहेछ । मानिसहरू जीवन प्राप्त गरे पछि जसले जति राम्रो भलाइका कामहरू गरेका हुन्छन् उनलाई मात्र मोक्ष प्राप्ति हुन्छ । अर्कोतिर जसले मध्यम श्रेणीको काम गरेको हुन्छ उनलाई पुन ः मानिसमा नै जन्म हुन्छ । जो अति नीच प्रकृतिका हुन्छन् जसले धर्म कर्मको मतलब राख्दैन उसले विभिन्न जीवजन्तुमा जन्मेर कैयौं योनि बिताइ मात्र मानिसमा पुनर्जन्म पाउँछन् । यसबाट के बुझिन्छ भने मानिसको मृत्यु पश्चात पुनर्जन्म हुन्छ । पुर्वजन्म वा पुनर्जन्म बारे अहिलेसम्म आधुनिक विज्ञान पछाडि नै परेको देखिन्छ । कहिले काँही मानिसको मृत्यु पश्चात भूत योनिको जन्मलाई मान्यता दिएको देखिन्छ भने जब ठाढो प्रयोगशालाबाट प्रमाणित गर्न खोज्दा बिफल भएको देखिन्छ । यहाँ अर्को तर्फ के आउँछ भने जब शरीरबाट आत्मा अलग हुन्छ भने पंच तत्वबाट निर्मित शरीर पुनः पंचतत्वमा विलिन हुन्छ ।

हाम्रो शरीर निर्माणमा यी पंचतत्व क्रमशः पृथ्वी, आकास, जल, अग्नि, हवाको पूर्ण भूमिका हुन्छ । कुनै पनि जीवजन्तु यी पञ्चतत्वबाट नै निर्मित हुन्छ भने मानिसको जन्म अन्य जीवमा र अन्य जीवको जन्म मानिसमा सजिलै जन्म लिन सक्छन् । पुनर्जन्म बारे आजको विज्ञान मौन रहे पनि हाम्रो शास्त्र यसबारे वडो प्रष्ट रहेको देखिन्छ । हाम्रो शास्त्रीय पुराण अनुसार मरिचि प्रजापतिको उर्णा नाम गरेकी मार्या थिइन् । उनको गर्भबाट ६ जना पुत्रहरू जन्मेका थिए । उनीहरू स्मर, उद्गीथ, परिष्वङ्ग, पतङ्ग, क्षुद्रभृत् र घृणी थिए । एक दिन परमपिता ब्रह्माजीको बारेमा परिहासपूर्वक हाँसेको हुँदा ब्रह्माजी कुपित भइ असुर योनीमा जन्म होस् भनी श्राप दिनु भयो र श्रापको प्रभावले तिनीहरूको जन्म हिरण्यकशिपुको छोराको रूपमा जन्म भयो । फेरि अर्को जन्ममा योग मायाको मायाले देवकीको गर्भबाट जन्म भयो जसलाई कसले जन्मने बितिकै मारेका थिए । त्यस पछि अर्को जन्ममा ती ६ जनाले सुतल लोकमा जन्म लिएका थिए । त्यस बखत सुतललोकको राजा वली थिए जो श्रीमद्भागवत महापुराणमा स्पष्ट रूपमा वर्णन गरिएको छ । यसै गरी सती देवीको पुनर्जन्म भइ पार्वती भएको र पुनः भगवान शिवले पार्वतीलाई विवाह गरेको दृष्टान्त पद्मपुराण लगायत कैयौ पुराणमा उल्लेख छ । सतीदेवी प्राण त्याग गर्दा मेरो जन्म जन्मान्तरसम्म भगवान शंकरसँग प्रेम रहोस् भनी भगवान रामसँग वरदान माग्नु भएको थियो । यसैलाई आधार बनाइ अहिले पनि कुनै जोडीले प्रेम बन्धनमा पर्दा हाम्रो प्रेम एक जन्म मात्र होइन सात जन्मसम्म रहि रहोस् भने प्रार्थना गरेको हुन्छ । त्यसै गरी अर्को–तिर हाम्रो पुरणहरूमा प्रख्यात प्रेमी जोडी भनेर चिनिने कामदेव र रतिको पुनर्जन्मको बारेमा स्कन्दपुराणमा वर्णित रहेको देखिन्छ । भगवान शंकरलाई समाधिबाट जगाउन देवताहरूको आदेश अनुरोधमा गएका कामदेव भगवान शंकरको क्रोधाग्निद्वारा भष्म भएका थिए र पत्नि रतिको प्रार्थनाबाट खुशी भइ वरदान स्वरूप भगवान कृष्णको पुत्रको रूपमा जन्म हुनेछ भनी वरदान दिनु भएको थियो ।

त्यसै वरदानबाट भगवान कृष्णकै सन्तानको रूपमा पुनर्जन्म भएको र कामदेवकी स्त्री रतिको चाहि शाम्बरासुरको दासी मायावतीको रूपमा पुनर्जन्म भएको भने प्रमाण श्री मद्भागवत पुराणमा उल्लेख छ । हाम्रो पूर्वीय दर्शनमा पुनर्जन्मलाई चौरासी लाख योनिसँग जोडेर वर्णन गरिएको छ । जीवनको अन्त कालमा मानिसले आफ्नो प्राण त्याग गर्ने बखत जुन जुन भाव राखेर आफ्नो देह त्याग गर्दछ उसले अर्को जन्ममा त्यही त्यही योनिमा जन्म लिन्छ भने वाक्यांशले ८४ लाख योनिमा जन्मको चक्रलाई इंगित गरेको छ । उदाहरणको रूपमा राजा भरतले तीन जन्मसम्म भरत कै नाम धारण गरी पुनर्जन्म लिनु भएको र उहाँले राज्य त्याग गरी पुनः धारण गरी जंगलमा निवास गर्दा एउटा मृगको संगतमा परी आफ्नो प्रमाण कालमा उक्त मृगलाई सम्झदै देह त्याग भएकोले मृगयोनिमा जन्म हुन पुगेको दृष्टान्त श्री मद्भागवत पुराणमा वर्णन गरिएको पाइन्छ । गीताको एउटा श्लोकलाई हेर्दा जसरी मानिसले आफूले आङमा लगाएको लुगा पुरानो र काम नलाग्ने भएपछि त्यसलाई बदलेर नयाँ लुगा लगाउँछ त्यसै गरी हाम्रो शरीर पुरानो र जीर्ण भए पछि आत्माले पनि अर्को नयाँ शरीर धारण गर्दछ भने उल्लेख छ । यसबाट के पुष्टि हुन आउँछ भने जीवको भौतिक शरीर नाश भएपनि शरीरवेष्टित यो आत्मतत्वले अर्को नयाँ शरीर धारणा गर्दछ । चाहे त्यो मानव होस् वा अन्य जीव÷जन्तु, उसको वेष्टित आत्मतत्वले अर्को नयाँ भौतिक शरीरलाई ग्रहण गर्ने हुनाले जीवको पुनर्जन्मलाई सिद्ध गरेको छ । यसरी जन्म, मृत्यु, पुनर्जन्म र पुनर्मृत्युलाई हाम्रो हिन्दू शास्त्रले सर्वसम्मत रूपले मानेको देखिन्छ । द्वायर युगमा महाभारतमा पनि कतिपय यस्ता उदाहरण भेटिन्छन् । हुनत कृष्णबारे यहाँ दोहराउनु ठीक देखिँदैन । व्यक्तिले जब कुनै दृढ प्रतिबद्धता गरेको छ र उसले यस जीवनमा पूरा गर्न सकेन भने पटक पटक जन्म लिएर आफ्नो आकाङ्क्षा वा प्रतिबद्धता पूरा गर्छ भने शास्त्रीय प्रमाण छ र यसको दृष्टान्त महाभारतमा पनि भेटिन्छ । काशी नरेशकी पुत्री अम्बाले इच्छा मृत्युको वरदान पाएका भीष्मपिता महसँग बदला लिनकै लागि शिखण्डीको रूपमा पुनर्जन्म लिएको र पाण्डव पक्षबाट युद्धमा सहभागी भएर भीष्मको मृत्युको कारण बनेको कथा आज पनि मानिसहरू बडो रूचि साथ पढ्ने र बुझ्ने गर्छन । अहिलेको विज्ञानले यस्ता कुरामा गहिरो खोज भन्दा बाहिर रहेको छ ।

विज्ञान र प्रविधिको विकासमा उच्च गतिमा अघि बढेको अत्याधुनिक पश्चिमा समाजले पनि आफ्ना परमेश्वरले पटक पटक जन्म लिनेमा विश्वास गर्छन । अर्कोतिर बुद्धधर्ममा समेत पुनर्जन्मको कुरालाई स्वीकार गरेको पाइन्छ । हिन्दू शास्त्रमा उल्लेख भएका कुरालाई जोडदार समर्थन गरेका छन् । दुःख÷सुःख भन्दा माथि उठी मान्छेले सोच्दा मान्छे मोक्ष प्राप्त गर्दछ र पुनः यस मृत्युलोकमा आउनु पर्देन । हिन्दू पूराणलाई हेर्दा बुद्ध पनि एउटा अवतार हो भन्ने मान्छन् । वेद समस्त ज्ञानको श्रोत भएको र बेद नै हिन्दू धर्मको आधार भएकोले हिन्दू संस्कार, संस्कृति र अभ्यासमा पुनर्जन्मलाई विशेष महत्व दिएको छ । उपनिषद्मा यस्ता अनेक सन्दर्भ छन् । वेद समस्त ज्ञानको श्रोत भएको र वेदनै हिन्दू धर्मको आधार भएकाले बेदमा पनि यस विषयमा प्रचूर तथ्य सहित मानिसको पुर्नजन्म उसको असल र खराब कर्मको आधारमा विभिन्न योनिमा जन्म लिने बताइएको छ । अर्कोतिर द्वापर कालमा नै एउटा अर्को प्रसंगलाई उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । हाम्रो पुराणहरूमा भगवान विष्णुका द्वारपाल जय र विजयलाई अश्विनी कुमार (देवताका वैध) ले सहजै भगवानको दर्शनार्थ भित्र जान नदिएको भनी तीन जन्मसम्म राक्षस योनिमा जन्म लिने गरी श्राप दिएका कथा प्रसंग धेरै पुरणहरूमा पाइन्छ । पहिलो जन्म हिरण्याक्ष र हिरण्यकशिपु दोस्रो जन्म रावण र कुम्भकर्ण तेस्रो जन्म दन्तबक्र र शिशुपालको रूपमा उल्लेख गरिएको छ । वामन अवतारमा दानवराज वलीको भगिनी (बहिनी) तेत्रा युगमा रावण भगिनी (बहिनी) शूर्पणखा र तेस्रो जन्म कंस दासी कुब्जा भएको भनी उल्लेख गरेको देखिन्छ । हाम्रो शास्त्रीय मत अनुसार हाम्रो पुनर्जन्म हुन्छ भने प्रमाणित गरेका सैकडौं उदाहरण भेटिन्छन् । अर्कोतिर हाम्रो जीवनको पुनर्जन्म हुँदैन भने भौतिकवादीहरूका दावीलाई कसरी पत्याउन सकिन्छ र ! हाम्रो समाजले पनि पुनर्जन्मबारे सकारात्मक दृष्टिकोण राखेरै आफ्ना पूर्वजलाई राम्रो कुल र वंशमा जन्म होस् भने कुराका लागि विभिन्न किसिमका पूजापाठ गरेका हुन्छन् । मुस्लिमहरूमा मृत्यु हुँदै यसको अन्त हो भने विश्वास राख्छन् भने हाम्रो हिन्दू धर्ममा मृतक प्रतिको पिण्डदानसम्मलाई अन्तिम मानेका हुन्छन् । अर्कोतिर हाम्रो धर्मको के मान्यता छ भने निर्जीव कुरामा पनि मंत्रद्वारा सजीवता प्रदान गर्न सकिन्छ । मूर्ति पूजामा हामी प्रष्ट रूपमा हेर्न सक्छौं कि मूर्ति कलाकारले बनाएको मूर्तिमा कुनै ज्यान हुँदैन जब ब्राह्नण पंडितबाट प्राण प्रतिष्ठाले सजीवता प्रदान गर्दछ तब हामी पूजा आर्चा शुरू गर्छौ ।

यसबारे अर्को उदाहरण हामी दिन्छांै जो धेरै घतलाग्दो छ । हामी निर्जीव माटोमा गहुको एक दाना छर्दा त्यसबाट फल्ने दानाले लाखौं दानाको उत्पति गर्दछ र त्यसबाट हामी पनि आफ्ना जीवनलाई निरन्तरता दिएका हुन्छौं । मुस्लिम धर्मले मूर्ति पूजाको विरोध गर्दछ । उनीहरूका भनाइमा ईश्वर एउटै हो अन्य रूप भनेको आडम्बर बाहेक केही होइन । उनीहरूका भनाईमा अझै अगाडि बढदा अल्लाह बाहेकलाई समान मान्दछन् । हाम्रो संस्कृतिमा साना, ठूला, कनिष्ट, बरिष्ट, अग्रज, अनुज, पिता, माता, गुरू आदिलाई उमेर तथा नाता अनुसार सम्मान र प्रेम प्रकट गरेका हुन्छौं । यसरी हाम्रो धर्मले माटो, आकास, जल, अग्नि, हवा आदिलाई पूजा गर्न आदेश दिएको छ । हाम्रो धर्ममा गुरू, माता, पिता, अतिथि आदिलाई देव तुल्य सम्झेर पूजा गर्दछौं । यति मात्र हुँदैन आफू भन्दा ठूला बुर्जुगलाई समेत आदर समानसाथ पूजा पाठ गरेका हुन्छौं । अन्तमा यस लेखबाट यस लेखका कविले के प्रष्ट गर्न चाहेको छ भने मानिसको पुनर्जन्म हुन्छ कि हुँदैन । आजका भौतिक वैज्ञानिकहरू यस कुरामा पछाडि परेको देखिन्छ । यदि हाम्रा शास्त्रीय आधारलाई लिने हो भने पूर्वजन्मलाई प्रमाणसाथ वर्णन गरेको हामी पाउँछौ । मानिस जन्म मरण प्रकृतिको एउटा प्रक्रिया हो तर यसबारे खोज हुनु पर्दछ । आजको युगलाई प्रमाण भएर मात्र हुँदैन, मान्छेले व्यवहारमा हेर्न चाहन्छ । आजका भौतिकवादी वैज्ञानिकहरू यसमा प्रयासरत छन् । भोलिको परिणामलाई प्रतिक्षा गरौं । हाम्रो नेपाली समाजमा अस्सी प्रतिशत हिन्दूको संख्या छ । हिन्दूहरू कुलदेवतादेखि ग्रामदेवतासम्म मात्र सीमित हँुदैन विभिन्न धामहरूमा स्थापित देव देवीहरूका दर्शन गरेर मात्र आफूलाई धार्मिक रूपले चोखो ठानेका हुन्छन् । घरमा विभिन्न यज्ञ पाठ गराउँछन् । हिन्दू धर्ममा बृद्धा अवस्थालाई सन्यास अवस्थाको रूपमा वर्णन गरेका छन् अर्थात ईश्वरसँग बढी नजिक हुन सन्यास अवस्थामा जान्छन् र आफ् नो लोक परलोकको वाटो निश्चित गर्छन् । इतिश्री ।

Comment


Related News

Latest News

Trending News