२०७९ श्रावण १९, बिहीबार ०७:१०

पहाडी क्षेत्रमा अविरल वर्षासंगै आएको बाढीले छिमेकी जिल्ला उदयपुरको सप्तकोसी नदीको अस्थायी बाँध टुटेपछि सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीय त्रासमा छन् ।

बुधवार विहान ४ बजे तिर उदयपुरको बेलका नगरपालिका स्थित अस्थायी बाँध सप्तकोसी नदीको बाढीले भत्काएपछि बाढी पस्ने चिन्ताले स्थानीय त्रस्त छन्। मंगलवारदेखि नै कटान शुरु भई अस्थायी बाँध भत्किने अवस्थामा पुगी सकेको खबर पाई रातभर जाग्राम वसेका सप्तकोसी नगरपालिका वडा नम्बर ३, ६, ७, ८, ९ र १० कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ६, १० र हनुमाननगर कंकालिनी नगरपालिका १३ का वासिन्दा बुधवार एकाबिहान सो बाँधको झण्डै आधी भाग बाढीले भत्काइदिएको थाहा पाएपछि झन त्रसित भएका छन् । स्थानीय दिनेश शर्माले भने “कोशीको बाढी बस्तीतिर पस्ने हो कि भन्ने चिन्ताले हाम्रो भोक र निन्द्रा दुबै हरेको छ ।” स्थानीय प्रशासनले उक्त क्षेत्र जोखिममा रहेपनि अहिले सम्म बाढी नपसेको र कुनै क्षति नभएको जानकारी दिएको छ । डिएसपी माधव प्रसाद काफ्लेले अविरल वर्षासंगै आएको बाढीले छिमेकी जिल्ला उदयपृुरको सप्तकोसी नदीको बाँध फुटेर उक्त जिल्लाको वेलका नगरपालिकाको २, ३, ८ र ९ वडा डुवानमा परे पनि सप्तरी तर्फ त्यस्तो अवस्था नदेखिएको बताए । उनले बाँध फुटेकाले जोखिममा रहेका सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका वासिन्दालाई सतर्क रहन र तटिय क्षेत्रमा नजान सचेत गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढीबाट हुने क्षति नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाका जनप्रतिनिधि सहितको सुरक्षा निकायका प्रमुखहरुसंग बुधबार नै बैठक बसी विपद् व्यवस्थापनका लागि तैयारी अवस्थामा रहेको बताए । उनले सम्बन्धित सबैलाई हाइअलर्ट रहन निर्देशन दिनुका साथै कटान क्षेत्रमा पुगी नियन्त्रणको प्रयास शुरु गरिसकिएको जानकारी पनि दिए । उक्त क्षेत्रमा जनधनको क्षति हुन नदिन सुरक्षाका सबै निकाय परिचालन गरिएको छ, उनले भने – अहिले सम्म स्थिति नियन्त्रण मै छ । यसैबीच कोसी नदीको बाढीले चारैतिर कोसी नदीले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ मा पर्ने विकट गाउँ गोबरगाढा स्थित आधार भूत विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थालेको वडा अध्यक्ष कुशेश्वर यादवले जानकारी दिएका छन् । वर्षायाममा डुंगा प्रयोग गरी मात्र पुग्न सक्ने उक्त गाउँमा कटान शुरु भएको खबर आएपछि नियन्त्रणका लागी आवश्यक प्रयास शुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News