अपडेट 
२०७९ श्रावण २०, शुक्रबार १२:१२

नेपाल विद्युत् प्राधिकरणले २ सय २० किलो भोल्ट (केभी) का तीन वटा सबस्टेशन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २ सय २० केभी सबस्टेशनमा हिजोदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ ।

२२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेशनमा क्रमश : २ सय ६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । साथै काेसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २ सय २० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ १ सय ५ किलोमिटर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि प्रदेश नम्बर १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताउनुभयो । २ सय २० केभी प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भइ विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहबी सबस्टेशनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहबी सबस्टेशनको लोड इनरुवा सबस्टेशनमा सार्न सकिने भएकोले उद्योगहरुलाई थप विद्युत् दिन सकिन्छ साथै भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ ।’

सङ्खुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाका विद्युत् गृहमा पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुने उहाँको भनाइ छ । काेसी करिडोर प्रसारण लाइनमार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेशनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेशनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा काेसी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेशन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

इनरुवा सबस्टेशन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । सङ्खुवासभाको किटिङ्गीडाँडाबाट सुनसरीको धरानसम्म ६६ किमी प्रसारणलाई २ भदौ २०७८ मा ३३ केभीमा चार्ज गरिएको थियो ।

प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले बताउनुभयो । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेशनबाट विराटनगरसम्म २३ किलोमिटर १ सय ३२ केभी प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छन् ।

इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४ सय केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४ सय केभी सबस्टेशन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेशन अर्को ठूलो हब बन्ने छ ।

अरुण, तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २ सय २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेशनमा जोडिने छ । काेसी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २ सय २० केभीका सबस्टेशनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो ।

काेसी करिडोरको २ सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत सुनसरीको इनरुवाबाट सङ्खुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २ सय २० केभी डबल सर्किट टावर निर्माण गरिएको छ । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारकाे एक्जिम बैंकले दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

काेसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारबाट वसन्तपुरसम्म झन्डै एक हजार  मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) बाट वसन्तपुरसम्म झन्डै एक हजार मेगावाट र वसन्तपुरबाट इनरुवासम्म झन्डै दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।

अरुण, तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा जाेड्न निर्माणाधीन कोसी करिडोर नेपालको अहिलेसम्मको सबैभन्दा लामो दूरीको २ सय २० केभी प्रसारण लाइन हो । प्रदेश-१ का भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५ सय १६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ।

Comment


Related News