२०७९ श्रावण २०, शुक्रबार २०:५७

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ।

आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो।

निर्वाचन आयोगमा अहिलेसम्म १ सय १६ वटा राजनीतिक दल दर्ता भएका छन्। आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

सरकारले आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति तोकेको छ।

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ।

तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो।

यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा २ वा त्योभन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ। तर यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिनेछन्।

Comment


Related News

Latest News

Trending News