सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर र उनका श्रीमानले किर्ते गरी दुई देशको नागरिकता लिएको भन्दै छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
उपमेयर मीरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत दुबै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उजुरी उपर शुक्रवार देखी आवश्यक छानबिन थालिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिएका छन् । किर्ते गरी दुबै देशको नागरिकता लिएको प्रमाण सहित बुझाइएको उजुरीका उजुरीकर्ताको नाम भने अहिले खुलाइएको छैन । प्रजिअ गौतमले भने–“हिजो मात्र उजुरी आइपुगेको छ, आज देखि वास्तविकता बुझ्ने काम थालेका छौं ।” उजुरी बारे गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जानकारी गराइएको उनले जानकारी दिए । उजुरी मार्फत किर्ते गरी नेपाली नागरिकता लिने उपमेयर मीरा र उनका श्रीमान महेन्द्रमाथि नागरिकता ऐन २०६३ को दफा १२ बमोजिमको कारवाही गर्दै पदबाट निलम्बन गरी हदै सम्मको सजाय गर्न माग गरिएको छ । मीरा र उनका श्रीमान् महेन्द्र भारत बिहार राज्य अन्तर्गत मझारी ग्राम पंचायत, अंचल निर्मली जिल्ला सुपौल निवासी भएको दाबी समेत उजुरी पत्रमा उल्लेख छ ।
उजुरी पत्रमा उनीहरुको नाममा जारी भएको भारतीय आधार कार्ड तथा भारतको विहार राज्यको विधानसभामा निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीमा समेत समावेश भएको विवरण पनि संलग्न छ । बिहार राज्यको विद्यानसभा निर्वाचन नियमावली २०२२ मा मीराको मतदाता क्रम संख्या ६३३ र उनका श्रीमान महेन्द्रको ६३२ रहेको उल्लेख छ । उजुरी पत्रमा उनीहरुले भारत सरकारको निर्वाचन आयोग बाट लिएका फोटो सहितको पहिचान पत्र र सपथ पत्र पनि समावेश गरिएको छ । उपमेयर मीराले भने उक्त आरोप निराधार रहेको दाबी गरेकी छन् । “मेरो माईती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र घर डाक्नेश्वरी नगरपालिका मै हो,उनले भनीन–‘ विपक्षीले मलाइ फसाउन यस्तो झुटो कुरा प्रचारमा ल्याएका छन् । चुनाव हारेकाहरु विभिन्न वहाना र निहुँमा मलाई फसाउन खोजेका हुन् , उनले भनिन– ‘मैले कहिल्यै भारतको नागरिकता लिएको छैन ।” उनले विपक्षीले बुझाएको सबै प्रमाण नक्कली रहेको दाबी समेत गरेकी छन् ।



