लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी संगठनले मुख्यमन्त्री लाल बाबु राउतसहित मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुख हरि शंकर मिश्रलाई ज्ञापनपत्र बुझाएर सो माग गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गएको बुधबार मुख्यमन्त्री राउतको नाममा रहेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गतको साइकल वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुख्यन्त्रीकै इशारामा कर्मचारीहरुले भ्रष्टाचार गरेको हुनाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने तर त्यसो नभएको लोकतान्त्रिक विद्यार्थी संघका मधेश प्रदेश अध्यक्ष मिथलेश यादवसहितको युवाहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले स्वयम राजिनामा नदिएको हुनाले उनीहरुलाई बर्खास्त गर्नुपर्ने विद्यार्थी संघको माग छ ।
वर्तमान सरकारको नेतृत्व र मन्त्रीहरु भ्रष्ट रहेको र तत्काल बर्खास्त नभए देश श्रीलकाको स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गर्दै विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ अख्तियारले ठहर गरिसकेका मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुलाई तुरुन्त बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन प्रदेश प्रमुख सामु माग गर्दछौं । अन्यथा जन भावना विपरीत गई प्रदेशको गरिमामाथि ठेस पुग्ने कार्य भएमा रक्षाको लागि हामी बाध्य भएर आन्दोलन गर्ने छौं ।’



