जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको महिना दिन भित्रै गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम केन्द्रीय समितिको बैठकले प्रदेश इञ्चार्जहरु तोकेको छ ।
बैठकले दुई जना केन्द्रीय अध्यक्ष मध्ये पहिलो वरियतामा बाबुराम भट्टराई र दोस्रो वरियतामा महिन्द्र राय यादवलाई राख्ने निर्णय गरेको छ । जसपामा भट्टराई संघीय परिषद्का अध्यक्ष रहेका थिए । यादव कार्यकारिणी समिति सदस्यमा थिए । नेसपामा भट्टराई सरहको पदमा यादव पनि पुगेका छन् । नेसपामा भट्टराई नेतृत्वको पूर्व जनशक्ति पार्टीका नेताहरुको वर्चस्व रहेको छ । सहअध्यक्षमा गंगानारायण श्रेष्ठ र उपाध्यक्षहरुमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोवलाई राखिएको छ । उनीहरु सबै जना पूर्व जनशक्ति पार्टीका हुन् । महासचिवमा रमेशप्रसाद यादवलाई राखिएको छ । उनी पूर्व राजपाका हुन् । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज तोकेको छ । प्रदेश नम्बर १ मा राजेन्द्र कुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतीप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिंह गुरूङ छन् ।
मधेश प्रदेशका इञ्चार्ज यादव मात्र महेन्द्र यादव पक्षीय रहेका छन् । महेन्द्र यादवले जसपा छाडेपछि उनका निकट सहयोगी मानिएका रामनरेश राय यादवले साथ छाडेका छन् । नेसपामा यादव निकट नेताहरुको संख्या न्यून रहेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निणर्य केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले १ सय ८८ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।



