२०७९ श्रावण २३, सोमबार ०६:३६

प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा.सि के राउतले चुनावी सुरक्षा खोज्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर सित छलफल गरेका छन् ।

सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट राउत प्रतिनिधि सभामा चुनाव लडन चाहेका छन् । राउतको पैतृक महादेवा गाउँपालिका समेत पर्ने सो क्षेत्रबाट उपेन्द्र यादव निर्वाचित भएका हुन् । स्रोतका अनुसार राउतले भेटको क्रममा यादवलाई सो सिट छाडिदिन आग्रह गरेका थिए । सिके राउतले मधेसवादी दलका नेताहरूसँग छलफल गर्ने क्रममा लोसपाका अध्यक्ष ठाकुरलाई पनि भेटेका हुन् । ठाकुरसित निरन्तर सम्पर्क र संवादमा रहेका राउतले भने यादवसित पहिलो पटक भेटवार्ता गरेका हुन् । जसपा अध्यक्ष यादवको कटु आलोचना गर्दै आएका राउतले यादवसित चुनावमा तालमेल गरेर जाने विषयमा पनि छलफल भएको बताइएको छ ।

राउतले नेताद्वय यादव र ठाकुरसँग छुट्टाछुट्टै गरेको भेटघाटको तस्विर उनको सचिवालयले आइतबार सार्वजनिक गरेको छ । उक्त भेटमा चुनावमा एउटा गठबन्धन बनाएर जानुपर्ने र मधेशका मागमा साझा धारणा बनाउनु पर्नेलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् । स्थानीय चुनावमा राउत नेतृत्वको जनमत पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न सकेन् । राउतले रोजेको क्षेत्रमा समेत जित्ने सुनिश्चित छैन् । जसपा अध्यक्ष यादवसँगको भेटमा राउतले आफूलाई सप्तरी क्षेत्र नम्बर २ मा सहयोग गर्न र अन्य क्षेत्र रोज्न आग्रह गरेका थिए । उनको प्रस्तावमा यादव सकारात्मक रहेको महासचिव सिंहले बताए । ‘राजनीतिमा समर्थन, विरोध र सहकार्य अपरिहार्य हुन्छ ’ महासचिव सिंहले भने, ‘यसलाई व्यक्तिगत रूपमा लक्षित गर्नु उपयुक्त र परिपक्व हुँदैन ।’ नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा सहभागी हुन प्रयासरत रहेको लोसपाका अध्यक्ष ठाकुरसितको भेटमा राउतले गठबन्धन गर्ने विषयमा नै जोड दिए । पाँच दलीय गठबन्धनमा सहभागिता हुने संभावना कमजोर भएकाले लोसपा एमाले सहितको बन्ने गठबन्धनमा राउत समेत सहभागी हुन सक्ने संकेत देखिएको छ । एमालेका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री रहेका बेला सहमतिगरी जेलमुक्त भएका थिए ।

ओली नेतृत्वको सरकार रहे सम्म संघर्षमा नगएका राउतलाई मधेशी दलका नेताहरुले शंकाको दृष्टिले देख्ने गरेका छन् । मधेश प्रदेशको सप्तरी जिल्लाका दुईवटा पालिकामा मात्र चुनाव जितेको जनमत पार्टीका लागि प्रदेश र प्रतिनिधि सभामा स्थापित हुन कडा संघर्ष गर्नु परिरहेको छ । मधेशी दललाई चर्को विरोध गरेर मधेशमा जम्ने राउतको रणनीति असफल भएको छ । मधेश प्रदेश सरकारलाई घेराबन्दीगरी जनविश्वास लिन गरेको प्रयास पनि सफल भएन् । प्रदेश र प्रतिनिधि सभाको चुनावमा राउतको रणनीति लोसपाको निर्णयमा भर पर्छ । लोसपाले पाँच दलीय गठबन्धनमा स्थान नपाए राउतका लागि सुखद हुन सक्छ । तर गठबन्धनमा जान लोसपाका नेताहरूले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो देउवा र लोसपा नेताहरूबीच भेटवार्ता भएको हो । लोसपाका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन, सरकारमा सहभागिता र मुद्दा फिर्ताका विषयमा छलफल भएको सहभागी एकजना नेताले जनाए । ‘चुनावी तालमेल, सरकारमा सहभागिता र हाम्रा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ताबारे प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको छ,’ उनले भने, ‘वार्ता सकारात्मक रह्यो ।’ सरकारमा सामेल हुन र गठबन्धनमा आबद्ध हुन लोसपालाई प्रधानमन्त्री देउवाले भेटको बखत आग्रह गरे पनि त्यसपछि त्यसबारे ठोस पहल हुने गरेको छैन् । अघिल्लो दिन राउतसित छलफल गरेका लोसपाका अध्यक्ष ठाकुरले देउवासितको भेटपछि सोमबार बस्ने कार्यकारिणी समितिको बैठकबाट धारणा सार्वजनिक गर्न सक्ने संभावना छ । लोसपाले पाँच दलीय गठबन्धनमा स्थान पाए जनमत लगायतका दलहरुसित तालमेल गर्ने संभावना कमजोर हुनेछ । देउवासितको संवाद सकारात्मक रहेको प्रतिक्रिया जनाए पनि लोसपाका नेताहरुले कार्यकारिणी समितिको बैठकमा गठबन्धनबारे ठोस निर्णय लिन सक्छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News