जनपुरधाममा सोमबारदेखि हरवाचरवालाई नेतृत्व तालिम सुरु भएको छ ।
राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजना र राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चको सहकार्यमा नेतृत्व विकास तथा जन वकालत विषयक तालिम सुरु भएको हो । हरुवाचरुवा मुक्त बनाउन, पहिचान र अधिकार उद्देश्यले तालिम दिइएको आयोजक संस्थाले जनाएको छ । तालिमको उद्घाटनमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले हरुवाचरुवाहरू समस्याको समाधान गर्ने प्रतिबद्धता गरे । समस्याको समाधानका लागि हरुवाचरुवाको वास्तविक तथ्याङ्कको सङ्कलन गरेर समाधानको उपायहरूको खोजी गर्ने उनले बताए । तीन तहको सरकारले ठोस योजना बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चका राष्ट्रिय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय सदस्य गणेश विश्वकर्मा सहितका वक्ताहरूले हरुवाचरुवा मुक्तिको घोषणा भएपनि समस्या यथावत् रहेको बताएका थिए । मधेश प्रदेशमा एक लाखको हराहारीमा हरवाचरवा रहेको बताइएको छ ।



