अपडेट 
२०७९ श्रावण २४, मंगलवार ०८:००

मैथिलीमा एउटा कूटोक्ति प्रसिद्ध छ ः ‘ ओनामासीधङ्ग, गुरुजी चितङ्ग’ । यो कूटोक्ति प्रायः बढी तर्क गर्ने छात्र वा व्यक्तिलाई लिएर गर्ने गरिन्छ । यसमध्येको ‘ओनामासीधङ्ग’मा मैथिलीभाषी क्षेत्रको मध्यकालीन इतिहासको एउटा महत्वपूर्ण सूत्र लुकेको छ । वस्तुतः यो मध्यकालका सिद्धसन्तहरुको स्तुतिमा रचिएको मन्त्र हो ः ‘ओम् नमः सिद्धं’ । नेपालको तराई, काठमाँडौ उपत्यका लगायत समस्त उत्तरभारतको जनजीवनलाई आफ्नो दर्शन र भावबाट प्रभावित गर्ने सिद्धसन्तहरुको काल ईसाको आठौँ शताब्दीदेखी दर्शाँ शताब्दी (अधिकतम् ईसाको एघारौँ शताब्दीको पहिलो दशक) हो । सिद्धसन्तहरु महायानी बौद्धमतको बज्रयान सम्प्रदायभित्र सहजयानीहरु थिए । उल्लेखनीय छ, बज्रयानको प्रभाव काठमाँडौ उपत्यकामा अझै कायम छ । काठमाँडौको बज्रबाराही मन्दिर तथा बज्राचार्यहरु यसका उदाहरण हुन् । थप उल्लेखनीय के छ भने अन्य क्षेत्रमा सिद्धसन्तहरुको परम्परा दशौँ एघारौँ शताब्दीमै सकिएपनि काठमाँडौ उपत्यकामा सिद्धसन्तहरुको परम्परा सत्रौँ शताब्दीसम्म पाइन्छ । जे होस, नेपालको तराई क्षेत्र र उत्तर भारतमा सिद्धसन्तहरुको परम्परा दशौँ शताब्दीमा सकिएको हो र यसपछि गोरखनाथ र मछिन्द्रनाथको अगुआईमा नाथ परम्पराले प्रभाव बढाउँदै लगेको हो । उल्लेखनीय छ चौधौँ शताब्दीको मैथिली साहित्यकार ज्योतिरिश्वर सिद्धसन्तहरुको नामावलीमा गोरखपा(गोरक्षनाथ) र मछिन्द्रपा (मत्स्येन्द्र नाथ)को नामपनि उल्लेख गरेका छन् । नेपाल, भारत, चीन लगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियामा लोकजीवन र राज्यमा समेत बौद्धधर्मको ऐतिहासिक प्रभाव विदित इतिहास हो । ईसाको चौथौँ पाँचौँ शताब्दीपछि बैष्णवहरुले आफ्नो प्रभाव बढाउँदै लगे । आठौँ शताब्दीको अन्ततिर जन्मेका तथा नवौँ शताब्दीको प्रारम्भिक दशकमा प्रसिद्धभएका आदि शंकराचार्यको मत तथा शिवसैनिकहरुको जबर्दस्त प्रभाव र प्रहारको कारण बौद्धमत खुम्चिँदै गयो र शैव र ब्रह्म श्रेष्ठताको शांकरमत प्रसारित भयो ।

राज्यसत्तामा प्रभावी वैष्णवी र शैवमतको प्रभावले क्रमशः लोकजीवनलाई पनि प्रभावित गर्दैगयो । यसै धार्मिक उत्थान र पतनमा बौद्ध सिद्धसन्तहरु ईतिहासमा समाउँदै गए । यद्यपि उनका व्यावहारिक दर्शन र प्रभाव लोकजीवनमा लामो समयसम्म कायम रह्यो । सिद्ध परम्पराका कयौँ देव–देवीहरुको हिन्दुकरण भयो । कयौँ सिद्ध महामुद्राहरु लोक जनजीवनमा वनदेवीको रुपमा पूजित भइन् । सिद्ध परम्पराको पराभवपछि शैव र वैष्णवी आचार्यहरु तथा पण्डितहरुले सिद्धमतलाई होच्याउँदै उनिहरुका वचन, दोहा तथा सूत्रहरुलाई लिएर अनेक व्यङ्गोक्ति, कुटोक्ति तथा अफवाहहरु फैलाएका थिए । यसको कारण के थियो भने सिद्धसन्तहरुको मत देह र लोकजीवनको व्यवहारमा आधारित थियो । यी विचारहरुलोकजीवन निकट र वैदिक र ब्रह्मवादी विचारका प्रतिपक्षी विचार थिए । यी विचारहरुको खण्डन नगरी वा यसको बारेमा समाजमा गलत धारणा विकसित नगराएसम्म वैदिक र भागवतमतलाई स्थापित गर्न सकिँदैनथ्यो । ‘ओनमासीधङ्ग, गुरुजी चितङ्ग’ यस्तै कूटोक्ति हो । मैथिलीमा एउटा शब्द छ ः ‘भुसकौल’ । यस्को अर्थ हुन्छ केही न जानेको, जति गरेपनि सिक्न न सक्ने, पट्टमुर्ख । सिद्धसन्तहरुमा एउटा प्रसिद्ध सन्त छन् — भुसुक । भुसकौल यिनै भुसुकलाई मजाक बनाउन रचिएको शब्द हो । सिद्धसन्तहरु अनिश्वरवादी थिएनन् । बौद्धमतभित्रको महायानी दर्शन अनुकूल उनिहरुपनि रहस्यवादी(अज्ञेय) नै थिए । तरपनि शैव र वैष्णवीहरु क्षुब्ध हुनुको कारण सिद्धसन्तहरुको वैदिक धारणाभन्दा भिन्न लोकजीवनको भौतिकता तथा व्यवहारमा आधारित विचार तथा लोककविताहरु थियो । दार्शनिकरुपमा सिद्धसन्तहरु देहवादी थिए । उनिहरु परमानन्द अर्थात् सुखको चरमोत्कर्षको आधार देहलाई मान्ने गर्थे । स्त्री र पुरुषको सहवासको चरमोत्कर्षमा प्राप्त हुने आनन्दलाईलाई उनिहरु महासुख भन्ने गर्थे ।

सिद्ध परम्परामा सबैभन्दा प्रारम्भिक मानिने सिद्धसन्त सहरपाद (७५० ई) को एउटा रचनामा यस्तो भनिएको छ :

“एत्थु से सुरसरि जमुना, एत्थ से गंगा साअरु । एत्थु पआग बणारसि, एत्थु से चन्द्र दिवाअरु ।। खेत्तु पीठ उपपीठ, एत्थु मइं भमइ परिठ्ठओ । देहासरिसअ तित्थ, मइ सुह अण्ण ण दिठ्ठओ ।।” बौद्ध ओ दोहा गान , हरप्रसाद शास्त्री ÷श्रोत ( राहुल निबन्धावली , राहुल सांकृत्यायन)

छाया अनुवाद (मैथिलीमा) :

एहि स सुरसरि जमुना, अही स गंगा सागर । एहे प्रयाग बनारस, एहि स चन्द्र दिवाकर ।। क्षेत्र पीठ उपपीठ, एहिमे भरमय परिस्थिति । देह सदृश तीर्थ, नइँ हम आने देखल ।।

नेपाली अनुवाद :

येसबाट सुरसरि जमुना, येसैबाट गंगासागर । यो नै प्रयाग बनारस, येसबाट चन्द्र दिवाकर ।। क्षेत्र पीठ उपपीठ, येसैमा डुल्दछ परिस्थिति । देहजस्तो तीर्थ, मैले कतै अन्य देखिन ।।

अझ सरहपाका शिष्य भुसुक (शान्तिदेव)का कविताहरुमा कयौ“ त विद्यापतिकालीन (१४औ“ शताब्दी) मैथिलीसंग सामीप्य रहेको देखिन्छ । उनको एउटा गीतका केही पंक्ति हेरौ“:

भुसुक भनइ मह बुझिआ भेलेँ । सहजानन्द महासुख लेलेँ ।। ू (बौद्ध ओ दोहा गान , हरप्रसाद शास्त्री ÷श्रोत ( राहुल निबन्धावली , राहुल सांकृत्यायन)

छाया अनुवाद :

वरमानन्द विलक्षण शुद्ध । जस्ले यो बुझ्छ त्यो यहाँ बुद्ध ।। भुसुक भन्छ म बुझ्ने भएँ । सहजानन्द महासुख पाएँ (लिए) ।।

विद्यापति तथा उनका समकालीन कयौँ कविहरुको कवितामा महासुख शब्दको प्रयोग भएको छ । मैथिलीका महाकवि विद्यापतिले रागात्मकता संस्कृत भाषाका जयदेवसंग पैँचो लिएपनि शील्पको चामत्कारिकता र लोकभाषी कोमलता सान्ध्य भाषा (द्वीअर्थी)का धुरन्धर सिद्ध कविहरुबाट नै लिएको देखिन्छ ।

सिद्धसन्तहरु निर्वाण वा मोक्षको अवस्थामा अनुभूत हुने वा कुनै अध्यात्मवादीको शब्दावलीमा ‘परमेश्वरमा विलीन हुँदाको सुख’ को तुलना ‘महासुख’ संग गर्थे । यस्तै उनिहरु जातपात तथा कर्मकाण्ड विरोधी थिए । सरहपाकै दुईपंक्ति हेरौ“:

“बम्हणहि म जाणन्त हि भेउ । एंबइ पढि़अउ ए चउबेउ ।। मट्टि–पाणि कुस लई पढ़न्त । घरहीँ बइसी अग्गि हुणन्त ।। कज्जे विरहइ हुअबह होमेँ । अक्खि डहाबिअ कडुएँ धुएँ ।। (ब्राह्मणले जान्दैन भेद । त्यसै पढछ यो चारवटै वेद ।। माटो पानी कुश लिएर पढछ । घरमै बसेर अग्नि होम गर्छ ।। काम बिना नै होता होम गर्छ । आँखा डढाउँछ पीरो धुवाँले ।।)

‘यसै कारण सिद्धसन्तहरु कर्मकाण्डी पण्डित, आचार्य तथा कर्मकाण्ड समर्थकहरुको कटु आलोचना तथा प्रहारका निशाना बनेका थिए । सिद्धसन्तहरुको काल त्यही काल थियो, जतिबेला शंकराचार्यका अनुयायी शिवसैनिकहरुको भयको कारण कयौँ बौद्ध शासकहरु शैव र वैष्णवीमा परिणत भएका थिए भने कयौँ बौद्धमठहरु तथा बौद्धमुर्तिहरु शिवालय तथा शिवमा परिणत भए । सिद्धसन्तहरुलाई महासुख प्राप्तिको निम्ती एकान्तस्थल र एउटा महामुद्रा (योगक्रियाको निम्ती स्त्रीपात्र)को आवश्यकता पथ्र्यो । यो कथित माथिल्लो जातबाट पाउन कठिन थियो । त्यसैले उनिहरुले महामुद्राको रुपमा कथित तल्लोजात डुमिनी, चमार्नी, दुसाधिनी आदिबाट छान्ने गर्थे । सिद्धसन्तहरुको महामुद्रा भएपछि समाजमा यी महामुद्राहरुको हैसियत र प्रभावसमेत बढथ्यो । यिनीहरुप्रति आदर र भय दुबै समाजमा पाइन्थ्यो । बौद्धमतको पराभवपछिपनि यी महामुद्राहरु डोमिन माई, चमिनिया माई, आदि वनदेवीको रुपमा अन्धविश्वासी लोकसमुदायमा पुजित रहिन । पछि यस परम्परालाई गोरखिया धामी धमिआइन तथा अघोरी र कौलिक पन्थ (शैव हठयोगी तान्त्रिकहरुका शाखाहरु)मा भैरवी, धमिआइन, जोगिनहरुले निरन्तरता दिए । शुरुमा महामुद्राको प्रयोगमा सामान्य अनुशासन देखिएपनि पछि दार्शनिकता समाप्त हुँदैगएपछि यो अराजक हुँदै कतै कतै अनाचारको रुपमा समेत देखियो । सहजयानलाई बदनाम गर्नमा शैव र वैष्णवीपक्षधरहरुको निम्ती यो अराजकता तथा अनाचारको स्थिति सहयोगी नै भयो । सिद्धसन्तहरुको भाषा अपभ्रंश थियो । विद्वानहरुको मतमा आधनिक नव आर्यभाषाहरुको बीज सिद्धसन्तहरुको रचनामा पाइन्छ । उदाहरणको निम्ती सरहपादका रचनाहरुमा प्राचीन मैथिली भाषाका बीज पाइन्छ । माथी उल्लेखित सरहपा र भुसुकका रचनाहरु यस्का उदाहरण हुन् ।

सत्ताको उत्थान र पतनले सामाजिक जीवनका चेतना, दार्शनिक तथा जीवन व्यवहारलाईपनि प्रभावित गर्छ । बौद्धमतको पराभव तथा शैव र वैष्णवी मतका अनुयायी शासकहरुले सत्तामा वर्चस्व स्थापित गरेपछि सहजयानी सिद्ध परम्परा इतिहासको नैपथ्यमा गयो । तर लोकजीवनमा अहिलेपनि सिद्धसन्तहरुको चिन्हहरु पाइन्छन् । विशेषगरी लोकगाथा तथा लोकव्यवहारमा कुनै सकारात्मकरुपमै, त कुनै नकारात्मकरुपमा अझै विद्यमान छन् । हाम्रो निम्ती सिद्ध साहित्यबारे जान्नु यसकारणपनि महत्वपूर्ण छ भने, सिद्धसन्तका चौरासीवटा सन्तमध्ये अधिकांश गण्डकीभन्दा पूर्व तराईका छन् । अझ मैथिली र भोजपुरी निकटका बढी छन् । सिद्ध साहित्यको अध्ययनको इतिहास बीसौँ शताब्दीको पहिलो दशकबाट शुरु हुन्छ । बंगालका प्रख्यात विद्वान महामहोपाध्याय हरप्रसाद शास्त्रीले १९०७मा नेपाल भ्रमणको क्रममा केही अपभ्रंश दोहाहरु र चर्यापदको खोजी गरेपछि यो पहिलोपटक प्रकाशमा आएको हो । दोहा र चर्यापदमा बौद्धतन्त्र परम्परानुसार तान्त्रिक र योगसाधनाका पद्धतिहरुको प्रतीकात्मक वर्णन गरिएको छ । यी दोहा र पदहरुका रचियता चौरासीजना सिद्धसन्तहरु थिए । दसवर्षपछि शास्त्रीले संकलित दोहा र पदहरुलाई बौद्धगान ओ दोहाको नामबाट प्रकाशित गरे । शास्त्रीले यसलाई पुरानो बाङ्गलाभाषा मानेका थिए । तर पछि भाषा दृष्टिबाट अध्ययन पछि विद्वानहरुले यसमा उत्तरीभारत र नेपालको तराईमा लोकप्रचलित भाषा तथा शैव, वैष्णव र सूफी साहित्यको प्रभाव रहेका निश्चित गरे । कयौँ विद्वानहरुले नव भारतीय आर्यभाषाहरु मगही, मैथिली, भोजपुरी र अवधी समेतको बीज सिद्धसाहित्यमा भेट्टाए । कयौ विद्वान तथा भाषाशास्त्रीहरुले सिद्धसन्तहरु मध्येका प्राचीनतम् सरहपाद र कन्हपाका रचनाहरुमा प्राचीनमैथिलीको सर्वाधिक प्रभाव मान्छन् ।

विद्वानहरुले सरहपादलाई मैथिलीको बीजकवि वा आदिकविको संज्ञा दिन्छन् । चौधौँ शताब्दीका ज्योतिरिश्वरले वर्णरत्नाकरमा चौरासीजना सिद्धसन्तको उल्लेख गरेका छन् भने मैथिलीका महाकवि विद्यापतिका रचनाहरुमा सिद्धसाहित्यको प्रभाव प्रष्टरुपमा देख्नसकिन्छ । सिद्धसन्त र त्यसपछि नाथसम्प्रदायका सन्तहरुका दोहा र पदमा प्रयोग गरिएको भाषा पछि मैथिली भोजपुरी, अवधी, मगही र हिन्दी मिश्रित सधुक्करी भाषाको रुपमा विकसित भएको पाइन्छ, जस्लाई कयौँ सुफी, सन्यासी, शैव र वैष्णव सन्तहरुले लेखन र बोलचालको भाषाको रुपमा प्रयोग गरेको पाइन्छ । हिन्दीका प्रसिद्ध समालोचक र विद्वान डा.हजारीप्रसाद द्विवेदीले कबीरको भाषामा सिद्धसाहित्यको प्रभाव अध्यधिक रहेको संकेत गरेका छन् । सिद्धसाहित्यको काव्यशैलीको प्रतीक, उपमान, रुपक र छन्दसमेतको परवर्ती सम्प्रदायहरुको साहित्यमा सहजै देखिन्छ । महामहोपाध्याय शास्त्रीका अतिरिक्त सिद्धसाहित्यको विषयमा खोजी गर्नेमा राहुलसांकृत्यायन, डा. काशीप्रसाद जायसवाल,डा. प्रबोधचन्द्र बागची, सिल्वा लेभी जस्ता इतिहासकार भाषाविद् र साहित्यकारहरुको योगदान महत्वपूर्ण छ । सिद्धसन्तहरुको रचनाप्रति मैथिली र भोजपुरीभाषी क्षेत्रमा उदासीनता तथा अज्ञानता नै भन्नु पर्छ कि भाषा र साहित्यको विकासको एउटा ऐतिहासिककाल नै अज्ञातमा छ । उल्लेखनीय छ, जतिबेला सिद्धसन्तहरु साहित्य रचना गरिरहेका थिए, त्यतिबेला कयौँ समुदायमा लेखनप्रक्रिया नै शुरु भएको थिएन । यस बारे पर्याप्त खोजीको आवश्यकता छ, किनभने यस्मा हाम्रो ईतिहास लुकेको छ ।

 

Comment


Related News

Latest News

Trending News