२०७९ श्रावण २४, मंगलवार ०८:२२

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

राजविराज नगरपालिका–१० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण हुने प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि सम्झौता भएसंगै प्रारम्भिक काम सुरु भएको हो । प्रस्तावित जग्गाको घेरवार, वातावरणीय प्रभाव मूल्यांकन, भूमिको अवस्था, माटोको परीक्षण लगायतको काम यस अघि नै सकाएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले डीपीआरको काम समेत अघि बढाएको छ । तीन दिन अघि मात्र डीपीआरका लागि डिजीकोन कन्सलटेन्सी कम्पनी र रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिबीच सम्झौता सम्पन्न भएको सोमबार समितिले पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ । जस अनुसार रु ७ करोडमा नक्शा र भवन निर्माण सम्मको मोनिटरिङ्ग गर्ने जिम्मा उक्त कम्पनीले पाएको छ । यसबारे अघिल्लो दिन आईतबार समितिले राजनितिक दल, प्रतिष्ठान निर्माण स्थल आसपासका वासिन्दा, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुको बैठक गरी डीपीआर सम्झौता र प्रतिष्ठान भवन निर्माणका बारेमा आवश्यक छलफल गरेको थियो । उक्त बैठकमा प्रतिष्ठान संचालन गर्न प्राविधिक पक्ष र आर्थिक पक्ष लगायतका विभिन्न विषयमा छलफल भएको प्रतिष्ठानका निर्देशक डा.रंजित झाले पत्रकार सम्मेलनमा जानकारी गराए । सम्झौता अनुसार डिजीकोन कन्सलटेन्सीका प्राविधिहरुको टोली सोमवारदेिख नै निर्माण स्थलमा पुगी डीपीआर लगायतको काम सुरु गरेका छन् । निर्देशक डा.झाका अनुसार डीपीआरको कामलाई दुई चरणमा विभाजन गरिएको छ । जस अनुसार पहिलो चरणमा चार महिना भित्र नक्शा र डिजाईनको काम सम्पन्न हुने छ । यी चरण पार गरे लगतै संरचना निर्माणको काम सुरु हुने र तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा समितिका कार्यकारी अध्यक्ष डा.रोहित पोखरेलले डीपीआरका लागि सम्झौता भएसंगै अब प्रतिष्ठान निर्माणको बाटो खुलेको बताए ।

जग्गा प्राप्ति, समय मै बजेटको प्राप्ति तथा प्रतिष्ठानको ऐन निर्माणमा ढिलाई हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अब निर्माण कार्यले गति लिने उनले बताए । नेपाल सरकारले यस अघि नै प्रतिष्ठान निर्माणको प्रारम्भिक कार्यका लागि राजविराजमा कार्यालय स्थापना गरी ४० करोड रुपैया बजेट विनियोजन गरेको थियो । जस मध्ये १० करोड रुपैया प्रतिष्ठानको खातामा जम्मा भएको कार्यकारी अध्यक्ष डा.पोखरेलले बताए । हालसम्म घेरबार, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, कार्यालय व्यवस्थापन लगायतका काममा २ करोड १५ लाख खर्च भईसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतिष्ठान स्थापनाका लागि तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, संविधानसभा सदस्य रञ्जु झा, गजेन्द्र नारायण सिह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा.रञ्जीत झा लगायतले सक्रियता देखाएपछि २०७४ भदौ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता स्व.रामराजा प्रसाद सिहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए । त्यसपछि मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले प्रधानमन्त्री ओलीको घोषणालाई मुर्तरुप दिदै राजविराजमा गणतन्त्रवादी नेता सिहको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेपछि २०७८ असाढ २२ गते तत्कालीन प्रधानमन्त्री ओलीले भर्चूअल माध्यमबाट प्रतिष्ठानका लागि भवन निर्माणको शिलान्यास गरेका थिए ।

प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब १२ अरब रुपैया खर्च हुने अनुमान गरिएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका कार्यकारी अध्यक्ष डा.पोखरेलले जानकारी गराएका छन् । प्रतिष्ठान संचालनमा आएपछि सप्तरीबासी मात्र नभई पुरै मधेश प्रदेश र आसपास जिल्लाका वासिन्दा समेत लाभान्वित हुने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News