आगामी मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ। समानुपातिकतर्फको बन्दसूची भने असोज २ र ३ मा बुझाउनुपर्नेछ।
कार्यतालिका संशोधन नभए अघिल्लो दिन अर्थात् असोज १ मै चालु प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ। प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ। असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ ।
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ। असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।
असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण,उमेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ।
मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।



