अपडेट 
२०७९ श्रावण २५, बुधबार ०७:३९

एक जना बुद्धिजीबीले मलाइ सोधेछन् कि नेपालको सरकार लोकतन्त्रको नार्म अनुसार काम गरि रहेछ त ! उसलाई मैले उत्तर दिएँ तपाईसँग पनि यसको अनुभव छँदै छँदा मसँग किन सोध्नु भयो त ! वहाँको भनाइ के आयो भने तपार्इं पत्रपत्रिकामा बरोबर आफ्ना लेख रचना मार्फत नागरिकलाई जगाइ राख्ने हुनाले यो प्रश्न तपाई समक्ष राखेको छु । वहाँको आग्रहमा मैले जानेसम्म यसको उत्तर दिने प्रयास गरेको छु । कुरा धेरै पुरानो छैन । मैले जबाव दिएँ, नेपालको सरकार लोकतान्त्रिक पद्धति अनुसार चले कै छ । अहिलेको गठबन्धन सरकार देश र समयको बाध्यता हो । मलाइ लाग्दैन्थियो कि यस्तो सरकार अति छिटो बन्छ । जनताले नेकपा (एमाले) का अध्यक्षलाई लगभग दुई तिहाइको सरकार बनाउने मत जाहेर गरेकै थिए तर वहाँले के गर्नु भयो सबै नेपालीको सामुने छँदै छ । बहुदलीय प्रणालीमा मानिसहरू आ–आफ्ना विचार दल मार्फत प्रकट गरेका हुन्छन् । सबै दल स्वतन्त्र रूपले निर्वाचनमा भाग लिएको भए आ–आफ्ना इच्छा लागेका पार्टीमा भोट हाल्ने नैसर्गिक अधिकारलाई सही रूपमा प्रयोग गर्ने मौका पाउँथे तर त्यस्तो अवस्था हुने देखिँदैन । २०७२ सालको संविधान पूर्णरूपेण लागू भैसकेपछि पहिलो निर्वाचन २०७४ मा जनताले त्यही सूझ बूझका साथ मत हालेकै थिए तर ओलीको सूझबूझ तथा संविधान अध्ययनको अभावका कारण अहिले गठबन्धन सरकारको जन्म भएको हो । बहुदलीय लोकतान्त्रिक व्यवस्था जोगाउन गठबन्धन गरेर निर्वाचनमा जानुको अर्को विकल्प रहेको देखिँदैन । लोकतन्त्रमा सबैभन्दा पहिले के संज्ञान राख्नु पर्छ भने जनता र संविधान सबैभन्दा माथि हुन् । हाम्रो संविधान पनि यसैलाई मनन गरी शक्ति सन्तुलनका सिद्धान्तलाई मानेको छ ।

व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा देशको शक्ति निहित हुन्छ र कानून अनुसार चलाउनु पर्ने हुन्छ तर यदि चालक कमजोर भयो भने गाडि कुनै बेला दुर्घटनामा पर्न सक्छ । यस्तै कुरा ओली उपर लागू हुन्छ । उहाँ आफू सामुने कसैलाई मान्न तयार भएनन् । देश र संविधान भन्दा आफूलाई माथि ठान्न थालेका कारणले देशमा अहिले गठबनधनको संस्कृति अगाडि आएको छ । जुन कुराको पनि विकल्प हुन्छ । विकल्प रहित कुनै कुरा छैन । वहाँको सोचमा के थियो भने मेरो विकल्प छैन । दुई–दुई चोटी संविधान अनुसार बनेको प्रतिनिधि सभालाई विचैमा बिगठन गरी निर्वाचनको घोषणा गर्नु विल्कुल अवैध काम थियो तर अहिलेसम्म आफ्नो अवैध कामलाई बैध नै छ भने दलील दिन पछि परेका छैनन् । हाम्रो संविधानमा ५१ प्रतिशत जनप्रतिनिधिले जुन बेला पनि मिलेर सरकार परिवर्तन गर्न पाउँछ त्यसैलाई प्रयोग गरी ओलीको सरकारलाई सिहदरबारबाट धपाइएको थियो । अहिले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको तिथि मंसीर ४ गते एकै दिन गर्ने निश्चित भैसकेको छ । सबै पार्टीहरू आ–आफ्ना पार्टीलाई बढी भन्दा बढी तिखार्दै अगाडि बढने अठोट साथ मैदानमा कुद्न चाहन्छन् । यहाँ हेर्नु पर्ने कुरो के छ भने केही पार्टीले आफ्ना गलत चलखेल मार्फत संविधान र व्यवस्था माथि चोट पु¥याउन चाहन्छन् । कतिपय पार्टी नाम कम्युनिष्ट पार्टी राखे पनि उनी देशमा जहिले पनि पूँजी पतिहरूका दलाल बनेर काम गरेका छन् । गाउँ घरका सर्वहारा किसान, मजदुरहरूका भोटले जितेर गए पछि यिनीहरूको दुःख विर्सेर ठूल्ठूला पूँजी पतिहरूका लाभका लागी मात्रै काम गरेको देखिएको छ । जो वास्तविक कार्यकर्ता छन् उनीहरू गाउँबाट उपर उठन सकेका छैनन् । निर्वाचनसम्म मात्र यिनीहरूका नजिक आइ मीठो मीठो सपनाहरू बाँटी राखेका हुन्छन् । सिधा सादा जनता यिनीहरूका मीठा मीठो कुरा सुनेर फकिन्छन् र समस्या जस्ताको त्यस्तै रहिरहन्छ । यिनीहरू जातीय, धार्मिक, गरीबधनी, ठूलासाना, आदि किसिम किसिमका नारा तयार गरेर जनतालाई प्रलोभनमा पार्न पछि पर्दैनन् । देश र जनतासँग मतलव हुँदैन । समय समयमा जनतालाई त बेचेकै छन् देशलाई समेत बेच्न तम्तयार भएर बसेका छन् । यी पार्टीहरू मूल रूपले अहिले दुई भागमा विभक्त भएका छन् ।

नेपालका केही पार्टीहरू सोझो रूपमा प्रतिगामी कितामा उभिएका छन् भने बाँकी पार्टीहरू अग्रगामी कितामा छन् । प्रतिगामी समूहको नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) हो । यसको अध्यक्ष अहिले पूर्व प्रधानमन्त्री केपीशर्मा ओली हुनुहुन्छ । वहाँको विगतको क्रियाकलापलाई हेर्दा अहिले वर्तमान व्यवस्था (पद्धति) लाई खत्म गरेर पछाडिको व्यवस्था फर्काउन चाहन्छन् । भाषणले त सबैले लोकतन्त्रको दोहाइ दिन्छन् तर उसको व्यवहार कस्तो छ त्यहाँ हेर्नु पर्ने हुन्छ । यहाँको शासनकालमा दुई दुई चोटी अवैध रूपले संविधानमा नभएका दफालाई समाति प्रतिनिधि सभाको विगठन, राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउनु, कानूनी सरकारलाई परमादेशको सरकार भन्नु, ठोरीमा अयोध्या कायम गर्नु, देशको ढुकुटीलाई खाली गरी पशुपतिमा सोनाको जलहरी लगाउनु, विपक्षीहरूलाई प्रजातान्त्रिक सम्मान नगर्नु, आफ्नै पार्टीका वरिष्ट नेताहरूलाई विश्वासमा लिन नसक्नु, म नै पार्टी हुँ भने भावना राख्नु आदि । हुनत यसभन्दा राम्रो पार्टी राष्ट्रिय प्रजातंत्र पार्टी हो जो खुलेर राजा तथा हिन्दू राष्ट्रको वकालत गरि रहेका छन् । केही समयका लागि राम्रा राम्रा उखान टुक्काहरू भनेर हँसी लगाएर तत्कालका लागि त हँसाउन सकिन्छ तर यसले राम्रो दुरगामी परिणाम दिन सक्दैन । अब लगभग विस्तारै जनताले पनि ओलीका काम कम्युनिष्ट सिद्धान्त विरोधी हो भने बुझि सकेका छन् । गाउँ घरसम्म बुझ्न केही समय लाग्ने देखिन्छ । अहिले हुन गइरहेको निर्वाचनमा ५ दलीय गठबन्धन नितान्त आवश्यक देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले ल्याएको नतिजा कुनै एक पार्टीको यस÷अपजसबाट आएको होइन । हामीलाई थाहा छ पाँच दलीय समूहमा सबैभन्दा बढी जनमत नेपाली काँग्रेससँग छ भने सबै भन्दा कम जनमोर्चा नेपालसँग देखिन्छ । जो जति बलियो र कमजोर छ त्यसै अनुसारको सीटमा समझदारी बनाएर लै जानु पर्छ । यसमा यी पाँच दलले मेरो÷तिम्रोको भावनाबाट माथि उठेर काम गर्नु पर्ने देखिन्छ । स्थानीय निर्वाचनमा गरेको गठबन्धनमा केही समिक्षा गर्ने विषय भए पनि अब हुने प्रादेशिक तथा संघीय निर्वाचनमा त्यसलाई सच्याएर अगाडि बढनु पर्दछ । अहिले गठबन्धनको परिणामलाई हेर्दा के नेपाली काँग्रेस एक्लै निर्वाचन लडेको भए सबै भन्दा ठूलो दल हुने थियो त ! यति हुँदा हुँदै ६ वटा महानगरपालिका मध्ये एउटा मुख्य महानगरपालिका काँग्रेसको हातबाट निस्केको छ । यसले अझ नेपाली काँग्रेसलाई सचेत बनाएको छ ।

सम्झौतामा सँधै मुनाफा मात्र हुँदैन, कहिले काँही केही घाटा सहेर पनि प्रतिगामीको खुट्टा कमजोर गर्न सबै एक जुट हुनै पर्दछ । अहिलेको लोकतन्त्र ल्याउन सबै भन्दा बढी मूल्य चुकाएका नेकपा (माके) हो । लोकतन्त्र प्रतिगमनमा गयो भने सबैले यत्रो संघर्ष गरी ल्याएको संघर्ष र बलिदान कहाँ जान्छ, विचारणीय देखिन्छ । त्यसैले यस लोकतन्त्रलाई जोगाउने लडाइमा सबै अग्रगामी पार्टीहरू एकजूट हुनै पर्दछ । जनता हुनत सबै पार्टीका नेताहरूका मूल्याङ्कन गरि रहेछन् । ओली प्रधानमन्त्रीबाट झरेपछि भोलीको चुनाववाट प्रधानमन्त्रीमा म फर्कदै छु । अहिलेको वहिर्गमन केही दिनको लागी मात्र हो । अहिले स्थानीय निर्वाचनको परिणामबाट केही हतास मुडमा रहेको देखिन्छ । उहाँले पनि यस गठबन्धनलाई तोड्न सक्दो प्रयास नगर्ला भन्न सकिन्न । यस गठबन्धनमा नेपाली काँग्रेसको भूमिका सबै भन्दा महत्वपूर्ण देखिन्छ । नेतृत्व गर्ने पार्टी भएको हुनाले गार्जियनको भूमिकामा रहनु पर्छ र गार्जियनले अन्य सदस्य माथि समेत खबरदारी गर्दै अगाडि बढ्नु पर्छ । नेपाली काँग्रेसको विगतको इतिहासलाई हेर्दा स्वयं प्रचण्ड जी समेत गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काम गरेर नै आजको लोकतन्त्र हामी पाएका छौं । त्यसैले लोकतन्त्र बचाउने जिम्मा पनि नेपाली काँग्रेसको काँधमा रहेको कुरा स्मरण गराउन चाहन्छु । अर्कोतिर प्रचण्ड र ओली बीचमा भएको घटना अहिले पनि ताजै छ । एक निर्वाचनसम्म यी पार्टीहरू यता÷उता हुनुहुँदैन । यदि भयो भने यसको परिणाम सबैले भोग्नु पर्ने हुन्छ र देशको शासन प्रतिगामीको हातमा पर्न जान्छ । ओली कहिले पनि लोकतन्त्र प्रति इमान्दार भएको देखिएन । जो पार्टी राष्ट्रिय प्रजातन्त्रसँग गोप्य गठबन्धन गरी निर्वाचनमा जान्छ र जित्छ भने भोलीको दिनमा उनी कत्ता ढल्छन् भने ठेगान छैन । स्थानीय निर्वाचन परिणामलाई समीक्षा गर्दा के देखिन्छ भने पाँचै पार्टीहरू एकै ठाउँमा आएर निर्वाचन लड्दा त एमालेको गठबन्धनले हम्मे हम्मे गरेको देखियो । यदि प्रादेशिक तथा संघीय निर्वाचनमा एक्लै एक्लै लड्दा सबै भन्दा ठूलो पार्टीको रूपमा नेकपा एमाले नै आउने बढी सम्भावना छ । हुनत अहिलेको अवस्था हेर्दा कुनै पार्टीलाई सजिलो बहुमत पुग्छ जस्तो लाग्दैन । निर्वाचन पछि अघिको अवस्था पुनः फर्किन्छ र पाँच वर्ष सरकारका लागि लडि रहने कुरा आउँछ । सिद्धान्त र निष्ठा कहाँ जान्छ ठेगान हुँदैन । देश विकासको चिन्ता छोडेर सबै पार्टी कसरी सरकारमा पुग्छौं भने कुरातिर नै लागेका हुन्छन् । यसैले यस्ता फोहरी खेललाई अहिले नै समाप्त गर्न अग्रगामी पार्टीहरू एक ठाउँमा आएर एक जूट भएर लाग्नु पर्ने देखिन्छ ।

यस्ता गठबन्धन गर्दा कहिले काँही आफ्ना आफ्ना स्वार्थलाई समेत केही त्याग गर्नु पर्ने हुन्छ । नेपालमा लोकतन्त्र त आयो तर जनतासम्म लोकतन्त्र के हो नेताहरूले बुझाउन सकेको देखिएन । लोकतन्त्र भनेको सबभन्दा उत्तम व्यवस्था हुँदा हुँदै पनि चलाउन नसक्दा विभिन्न खोट हेर्न थाल्छन् र पछि व्यवस्था माथि नै प्रश्न उठाउन थाल्छन् । बेलायत लोकतन्त्रको जननी कहलाउँछ । त्यहाँ लिखित संविधान नभए पनि देश राम्रोसँग चलेकै छ । नेपालमा लिखित संविधान भएपनि कतिको पालन हुन्छ भने मूल्याङ्कनको समय आइ सकेको छ । यो व्यवस्था यस्तो छ जहाँ सबै वर्ग, धर्म, जाति, समूह आदिले आ–आफ्ना विचार खुल्ला रूपमा राख्न पाउँछन् । जनता बढी स्वतन्त्र अनुभव गर्छन । तर कहिले काँही केही नेताले लोकतन्त्रको उल्टा अर्थ लगाइ देशलाई नै भाँड भैलोमा लग्न खोज्छ । त्यसैले अहिले यस्ता पार्टी तथा नेतालाई नियन्त्रण गर्ने मौका छ त्यसका लागी पाँच दलीय गठबन्धनको निरन्तरताको अर्को विकल्प रहेको देखिँदैन । निष्कर्षमा गठबन्धनमा सरिक पार्टीहरूले पनि आफ्नो औकातलाई राम्ररी विचार गरी गठबन्धनलाई निरन्तरता दिइ राख्नु पर्दछ भने जनताको माँग पनि यहि हो । जनतालाई डो¥याउने पार्टीका नेताहरू हुन् तर नेपालमा बिना सूझबुझ म जे भन्छु त्यही सबै कुरो हो भने अहमतालाई मनबाट निकाली दिनु पर्दछ । गठबन्धन पक्षीय विद्वानहरूका विचारलाई पनि स्वीकार्नु पर्ने देखिन्छ । राजनीतिक जानकारहरूलाई भेला गराई राम्ररी छलफल गराएर अगाडि बढ्नु पर्छ । पार्टीहरूले देश र जनता दुबैको भलो हुने कुरालाई अगाडि बढाउने कुरा आफ्नो मेनुफेस्टोमा उल्लेख गरी अगाडि बढनु पर्ने देखिन्छ । त्यस्ता मेनुफेस्टोका कुराहरू गठबन्धनका पार्टीहरूसँग पनि मेल खाएको हुनु पर्दछ । इतिश्री । लेखक त्रिविका सेवा निवृत सह–प्राध्यापाक तथा अन्वेषक हुनुहुन्छ ।

 

Comment


Related News

Latest News

Trending News