मधेश प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ सप्ताहव्यापी रुपमा मनाइँदै छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको पहिलो दिन जानकी मन्दिरबाट प्रभात र्याली निकालिएको थियो । सामुदायिक परिवार कल्याण संघ(सिएफएडब्लु) र प्लान ईन्टरनेशनल नेपालको अगुवाईमा जानकी मन्दिरबाट निकालिएको र्यालीमा महिला बालबालिका युवा तथा खेलुकुद मन्त्रालयसहित धनुषामा जिल्लामा सक्रिय रहेका विभिन्न १७ वटा गैरसरकारी संस्थाहरुको पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विहान ७ वजे निकालिएको र् याली जनकपुरधाम बजारको परिक्रमा गर्दै महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको प्राङ्गणमा गएर कोणसभामा परिणत भएको थियो । कोण सभामा मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले युवा नै देशको कर्णधार र परिर्वतनका संवाहक रहेको भन्दै मुलुकलाई संघीय लोकतान्त्रिक व्यवस्थामा ल्याउन ठूलो योगदान रहेको चर्चा गरे । युवालाई विभिन्न क्षेत्रमा प्रेरित गर्न केही महिना अघि आफूहरुले प्रथम प्रदेश युवा सम्मेलनको आयोजना गरेको बताउँदै मन्त्री सिंहले भने,‘मधेश प्रदेशमा मात्र नभई देशकै लागि युवाहरुमा बेरोजगारी समस्या ठूलो चुनौती रहेको छ । तर मधेश प्रदेश सरकारले बेरोजगारी समस्या समाधान गर्न तर्फ कार्य अगाडि बढाएको छ ।
खेलकुद सम्बन्धी ऐनको मस्यौदा तयार भइसकेको र केही दिनमा प्रदेश सभाबाट पारित हुने मन्त्री सिंहले बताए । कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले मन्त्रालयले महिला बालबालिका तथा युवाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताए । कार्यक्रममा सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लु) का कार्यकारी निर्देशक मिथिलेश साहसहितले मन्तव्य राखेका थिए । अन्तर्राष्ट्रिय युवा दिवसको पहिलो दिन बुधवार विहान प्रभात र्याली र रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । उपसचिव दाहालका अनुसार ट्राफिक सचेतनासहितका कार्यक्रम आयोजना पनि गरिने छ ।



