सामुदायिक वन दिवसका अवसरमा बाराको निजगढमा वृक्षरोपण गरिएको छ ।
बाघ भैरव सामुदायिक वन स्थित मोहोरी पार्कमा विभिन्न प्रजातीका करिब ५ सय बिरुवाहरु रोपिएको थियो । वनको दिगो ब्यवस्थापनकोलागि सामुदायिक अधिकार ः उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधार’ भन्ने मूल नाराको साथ कार्यक्रम गरिएको थियो । बाराको विभिन्न पाँच हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने योजना वन कार्यालयमा रहेको छ । उद्योग,पर्यटन तथा वन मन्त्रालयका मधेश प्रदेश सचिव विशाल घिमिरेले वृक्षरोपण गरेर वृक्षरोपण कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा सचिव घिमिरेले वन संरक्षणमा सरकारको साथसाथै वन संरक्षण उपभोक्ता समूह पनि सँगसँगै लाग्नुपर्नेमा जोड दिएको छ । उनले उपभोक्ता समूहको कामकारवाहीमा पारदर्शिता हुँदा कतिपय समस्याहरु आफै हराएर जाने गरेका कारण पारदर्शिताको आवश्यकता औल्याए । सामुदायिक बन सिकाईको आधार पनि भएकाले समूहहरुले उत्पादन गरेको काठ चाडो भन्दा चाडो उपभोक्ता समूहलाई वितरण गर्नुपर्ने बताए । उपभोक्तालाई चाहिने भन्दा बढी काठ भयो भने व्यापारीहरुलाई विक्री गर्न सल्लाह दिए ।
त्यस्तै प्रदेशका वन निर्देशक जगन्नाथ जैसवालले सामुदायिक वन पर्यावरणको संरक्षण गर्दै आयआर्जन गर्नुपर्नेमा जोड दिए । सामुदायिक भन्ने शब्द समुदाय र दायित्व मिलेर बनेकाले सामुदायिक वन उपभोक्ता समूहहरुले वन संरक्षणप्रतिको आप् mनो दायित्व भुल्न नहुने बताए । जुनसुकै क्षेत्रमा सुशासनको अभावमा विभिन्न समस्या आउँने गरेकाले सुशासनको पालना सबैले गर्नुपर्ने सल्लाह दिए । उद्योग ,पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेश ,सामुदायिक वन उपभोक्ता समूहहरु ,सामुदायिक वन उपभोक्ता महासंघ ,जिल्ला महासंघ बारा ,प्रदेश वन निर्देशनादय र डिभिजन वन कार्यालय बाराको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । सामुदायिक वन उपभोक्ता संघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाँईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य डिभिजन बन कार्यालय बाराका रेञ्जर सन्दीप पटेलले राखेका थिए भने कार्यक्रमको सञ्चालन वन अधिकृत अनिल साहले गरेका थिए ।



