२०७९ श्रावण २७, शुक्रबार ०७:४९

राज्यले मुस्लिम समुदायलाई करदाता र मतदाताको रुपमा मात्रै प्रयोग गरेको मुस्लिम सामुदायका अगुवाहरुले आरोप लगाएका छन् ।

प्रदेशिक सम्वाद समूहले बिहीबार जनकपुरधाममा आयोजना गरेको ‘ जनसंख्याको आधारमा राज्यको हरेक अंगमा मुस्लिम समुदायको सहभागिता न्यून’ विषयक अन्तरक्रिया कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरुले यस्तो आरोप लगाएका हुन् । मुलुकको हरेक परिवर्तनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेपनि शासकले मुस्लिम समुदायलाई विभेद गर्दै आएको उनीहरुको गुनासो थियो । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा जनकपुरधाम उपमहानगरपालिका पूर्व उपमेयर मोहम्मद असर अलीले राज्यले मुस्लिम समुदायलाई करदाता र मतदाताको रुपमा प्रयोग गर्दै आएको आरोप लगाए । मधेश प्रदेशमा मुस्लिम समुदायको जनसंख्या १२ प्रतिशत रहेपनि त्यस अनुसार प्रदेश सरकारको विभिन्न निकायमा मुस्लिम समुदायको सहभागिता नगराइएको उनले बताए । कार्यक्रममा नेपाल हज कमिटिका पूर्व अध्यक्ष मोहम्मद शोएब रेजाले मुलुकमा हुने हरेक राजनीतिक परिर्वतनमा मुस्लिम समुदायको बराबरको सहभागिता हुदाँ हुँदै मुस्लिम समुदायलाई कतिपयले शंकाको दृष्टिले हेर्ने गरेको दुखेसो पोखे । मदरसा बोर्ड गठन सम्बन्धी विद्येयक लामो समयदेखि प्रदेश सभामा रहेपनि त्यसलाई पारित प्रदेश सरकारले कुनै चासो नदेखाएको उनको भनाइ थियो । अन्य समुदाय जस्तै मुस्लिम समुदाय पनि मुलुकको विकासका लागि आफ् ना योगदान दिँदै आएको भएपनि राज्यले मुस्लिम समुदायसँग विभेदपूर्ण व्यवहार गरिरहेको नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य मौलाना ईजरायल अहमद रिजवीले बताए ।

संघ देखि प्रदेश सम्म मुस्लिम समुदायलाई राज्यले विभेद गरेको नेता मौलाना रिजवीले चर्चा गरे । राज्यको उदासीनता र उपेक्षाका कारण राजनीतिसहित मुलुकको हरेक निकायमा मुस्लिम समुदायको जनसंख्याको हिसावले पहुँच हुन नसकेको बताउँदै मुस्लिम महिला नेतृ सबनम खातुनले भनिन्,‘ मुलुकमा दलितभन्दा पनि मुस्लिम समुदायको अवस्था दयनीय छ । मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा निकै पछाडि भएपनि मुस्लिम समुदायलाई उकास्न राज्यले सबै क्षेत्रमा आरक्षण दिन सकेका छैनन् ।’ राजनीतिक दलहरुले समानुपातिकका नाममा जनतासँग मत लिन्छन तर समानुपातिक कोटामा आफ्नै नातागोतामा वा पैसा दिने व्यक्तिलाई मात्रै राख्ने गरेकोले पनि मुस्लिम महिला राजनीतिमा अगाडि आउन नसकेको उनले बताइन । कार्यक्रममा पूर्व सभासद फरमुद नदाफ,नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सदस्य हसन शेख, नेकपा एमालेका मधेश प्रदेश सदस्य हकिम राईन, नेपाली कांग्रेस क्षेत्र न.३ क्षेत्रीय सदस्य मो. ताहिर हुसैन, मुस्लिम अगुवा मो.नौसाद अहमद, जसपाका नजामुद्दीन अंसारी, अकबर नदाफ, प्रदेश संवाद समिति सदस्य देवन्द्र मिश्र लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News