नेपाल सरकारले खेलाडीहरुलाई खेल खेल्ने वातावरण बनाउँदै गएको संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले बताएका छन् ।
बाराको सिमरा स्थित सिमरा रङ्गशालाको अवलोकन गर्न आउँने क्रममा सिमरा विमान स्थलमा प्रेस सेन्टर नेपाल बाराले आयोजनाका गरेको पत्रकार सम्मेलनमा मन्त्री गहतराजले पहिला भन्दा खेलाडीलाई हेर्ने दृष्टिकोण अहिले बदलिएको बताए । राज्यले खेलाडीहरुको मनोबल वृद्धि गर्ने उद्देश्यले खेलमा जित अनुसारको पुरस्कार प्रदान गर्ने पद्धति ल्याउन लागेको उनले बताए । उनले मन्त्रिपरिषद्को बैठकबाट ओलम्पिक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १ करोड ३२ लाख र एसियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु ३२ लाख रुपैया दिने निर्णय पास हुन लागेको जानकारी दिए । मन्त्री गहतराजले यस्तो व्यवस्थाले देश र खेलाडीको मानसम्मानको साथसाथै र जीविकोपार्जनको महत्वपूर्ण आधार बन्ने बिश्वास व्यक्त गरे । उनले सरकार , निजी क्षेत्र तथा अन्य संघसंस्थाहरुले खेलाडीहरुको मनोबल बढाउन विभिन्न पुरस्कारहरु दिने प्रवृति आईसकेका कारण यसले खेलाडीहरुलाई खेलबाट अन्य क्षेत्रमा पलायन हुने स्थितिलाई रोक्ने बताए । पत्रकार सम्मेलन पश्चात युवा तथा खेलकुद मन्त्री गहतराजले सिमरा रङ्गशालाको अध्ययन तथा अवलोकन गरेका थिए । अवलोकनको क्रममा मन्त्री गहतराजले नव जनजागृति युवा क्लबले बनाईरहेको सिमरा रङ् गशाला धेरै सम्भावना बोकेको रङ्गशाला रहेकाले सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
खेलको माध्यमबाट अहिले पनि विदेशी मुद्राहरु स्वदेश भित्रि रहेको मन्त्री गहतराजले बताए । स्वस्थ र निरोगी रहन खेलकुद अतिआवश्यक भएकाले सबै स्थानीय तहले खेलकुदकोलागि जग्गा बचाउनु पर्ने सल्लाह दिए । त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सिमरा रङ्गशालालाई सरकारले राष्ट्रिय योजनाको मान्यता दिइ बहुपक्षीय ठेक्का लगाई निर्माण गर्नुपर्ने बताए । उनले जीतपुरसिमरा उपमहानगरपालिका– २४ स्थित ३० विगहा जग्गामा उपमहानगरपालिकाले क्रिक्रेट रङ् गशाला बनाउनेतर्फ ध्यान केन्द्रित गरेको बताए । सो कार्यक्रममा संबिधान सभा सदस्य जयराम दाहाल ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ ,केन्दी्रय सदस्य गीता कडेँल ,जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,नवजन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामा ,महासचिव शम्भुसिँह ठकुरी ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल लगायतको सहभागिता रहेको थियो ।



