
मधेश प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ ।
शनिबार मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकारहरुसंग कुराकानीमा पहिलो चरणमा आजदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन गर्ने बताएका हुन् । मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने जानकारी दिए । सो क्रम एक सातासम्म जारी रहने छ । धर्नामा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, नागरिक समाजका अगुवाहरू रहने जनाइएको छ । एक सातासम्ममा पनि संघीय सरकारको ध्यानाकर्षण नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरिने चेतावनीसमेत दिइएको छ । संघीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पुरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा देशका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको मन्त्री साहले बताए । उनले प्रदेश प्रहरी समायोजन र प्रमुख जिल्ला अधिकारी प्रदेशको मातहतमा ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरूको आन्दोलन संघसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए । संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार संघर्षमा उत्रिन बाध्य भएको जनाइएको छ ।

यसअघि,२२ साउनमा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, सांसदसहित सामूहिक रूपमा प्रदेश प्रहरी समायोजनका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएर संघीय सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए । मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरिएको थियो ।