मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भ्रष्टाचार विरुद्ध जनता सचेतसहित विरोधमा उत्रिनुपर्ने बताएका छन् ।
शनिबारदेखि जनकपुरधाम स्थित नेपाल बार एशोसिएसन जनकपुरधामको सभाकक्षमा सुरु भएको दुई दिवसीय कार्टुन प्रदर्शनीको अवलोकन गर्दै गृह तथा सञ्चार मन्त्री साहले भ्रष्टाचार विरुद्ध आमजनता खुलेरै उत्रिनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री साहले कुनै पनि देशमा जनताले खुलेआम शासकको समेत कठोर रुपमा विरोध नगर्दासम्म कर्मचारीतन्त्रमा गाँजिएका सरकारले पनि केही गर्न नसक्ने बताए । उनले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा सबै जना एकमत रहे पनि प्रायः कर्मचारी, शासक र जनताको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मौनता साँध्दै भ्रष्टाचारलाई अङ्गालिरहेको बताए । मुलुकमा मौलाएको भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका ५० भन्दा बढी कार्टुनहरू प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको कार्टुन प्रदर्शनी कार्यक्रम आइतबारसम्म जारी रहने क्लबका सदस्य केशव राज खनालले जानकारी दिए ।
प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको छ । प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षलाई उजागर गरिएको छ । प्रदर्शनीमा दुर्गा बराल ‘ वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा सहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।

