चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनशनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानीले तेस्रो चरणको आन्दोलनको घोषणा गरका छन् ।
चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रमदेखि रिले अनशनदेखि आमरण अनशनसम्म गर्दासमेत चुरेको विनाश नरोकिएको भन्दै अभियानले पुनः आन्दोलनको घोषणा गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी अभियानले आन्दोलनको घोषणा गरेका हुन् । अभियानका संयोजक सुनीलकुमार यादवले विगतमा विभिन्न प्रकारका आन्दोलन तथा जनकपुरधामको जनक चोकमा गरेको रिले अनशन र आमरण अनशनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको बताए । विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दवाबमूलक कार्यक्रम गरे पनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट कुनै पनि सुनुवाइ नभएकोले बाध्य भएर तेस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक यादवले बताए ।
अभियानले भदौ १ गते मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकार विरुद्ध विरोध प्रर्दशन तथा कोण सभा गर्ने, भदौ ९ गते मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

