जनकपुरधाम उपमहानगरपालिका –२ का वडाध्यक्ष शिवकुमार साहको नेतृत्वमा १३५ जना वृद्ध–वृद्धा राम जन्मभूमी अयोध्याका लागि धार्मिक यात्रामा निस्केका छन् ।
आइतबारदेखि धार्मिक यात्रा प्रारम्भ भएको छ । वडाध्यक्ष साहले आफ्m्ना वडाका १३५ जना जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तीर्थधामका लागि प्रस्थान गरेका हुन् । उक्त अवसरमा विदाई गर्न पुगेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट उम्मेदवारी दिने बताए । उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भइ मिलेर आगामी निर्वाचनमा जानुको विकल्प नरहेको समेत बताए । नेता निधिले सत्ता गठबन्धनको दलमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराइ सरकारमा समावेश गर्नुपर्ने बताए । नेता निधिले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई आफूले स्वयं कुरा गरेर निर्वाचनमा सँगै जानका लागि भनेको बताए । उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा छलफल गरेका छन् ।’ धनुषा ३ मा ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता निधिलाई उनकै निर्वाचन क्षेत्रमा पराजित गरेका थिए ।

