सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले बाराको सिमरामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
पथलैया वीरगञ्ज–६ लेन सड्कखण्डमा जथाभावी गाडी पार्किङ र फुटपाथमा पसलका सामग्रीहरु राखेर सड्क खण्डहरु अवरोध हुँदै गएपछि समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको हो । ईलाका प्रहरी कार्यालय सिमरा र ट्राफिक प्रहरी कार्यालय सिमराको आयोजना र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम भएको हो । सिमरा स्थित अस्थाई ट्राफिक प्रहरी कार्यालय अगाडिबाट सुरु भएको रयाली जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १ र २ को विभिन्न क्षेत्रहरु परिक्रमा गरेको थियो । वीरगञ्ज पथलैया सड्क खण्डका अस्त व्यस्त पार्किङ्ग,जेब्रा क्रसिङ्ग र सड्क लाईट उचित व्यवस्थापन गरी सबैले त्यसको परिपालना गर्न नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले सबैमा अनुरोध गरे ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल ,उप प्रमुख भोला अधिकारी ,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमलसिना , अस्थाई ट्राफिक पोस्ट सिमरा प्रहरी नायब निरीक्षक दिलिप कुमार यादब लगायत बिभिन्न संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

