२०७९ भाद्र २, बिहीबार ०६:५३

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकबाट नै हुवहु पारित गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने भएका छन् । प्रतिनिधिसभाको बिहीबार ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । ’सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस’ भनी गृहमन्त्रीले पहिलो प्रस्ताव राख्नेछन् । गृहमन्त्री खाँणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । जसको सत्तारुढ गठबन्धनले विरोध गरेको छ । गठबन्धनले संघीय संसद् का दुबै सदनबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । त्यस आधारमा हेर्दा सत्ता गठबन्धनको बहुमत हुने भएकाले गृहमन्त्रीले राखेको प्रस्ताव पारित हुँदा बिहीबारको बैठकबाटै नगारिकता विधेयक पारित हुनेछ । सत्तारुढ गठबन्धनको उक्त निर्णयको प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’बहुमतको घमण्ड’ भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ । त्यसरी पठाएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

नागरिकता विधेयक फिर्ताको विरोध

प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका छन् । ’नेपाली आमाबुबाका सन्तान हामी कसरी अनागरिक सरकार ?’, ’देशको असल नागरिक पहिचान गर’, ’अनागरिक बनाउन पाइँदैन’, लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले सडकमा प्रदर्शन गरे । राष्ट्रपति भण्डारीले साउन २ ९ गते पुनर्विचार आवश्यक भन्दै विधेयक फिर्ता गरेकी थिइन् ।

छलफलको कुनै अर्थ छैन् : ओली

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकबारे सत्तारुढ गठबन्धनले जस्ताको त्यस्तै फिर्ता गर्ने निर्णय लिएर बहुमतको घमण्ड देखाएको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा ओलीले बुधबार नागरिकता विधेयकबारे संसद् मा छलफल हुनुपर्नेमा संसद् बाहिर नै निर्णय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ’नागरिकता विधेयक राष्ट्रपतिले संसद्ले एकपटक विचार गरोस्, कमी कमजोरी नरहोस्, यो धेरै गम्भीर विषय हो भनेर फिर्ता पठाउनुभयो । संसद् मा होइन बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनुभएपछि पाखुरा सुर्केर, मसल छामेर राष्ट्रपतिले फिर्ता पठाउने जस्ताको त्यस्तै फिर्ता पठाइदिने हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ,’ उनले भने, ’के छलफल हुन्छ अब ? पाखुरेहरूले पाखुराको भाषा बोलिसके, हिजै जस्ताको त्यस्तै फिर्ता पठाइदिने, बहुमतको तागत देखाइदिने । को हो राष्ट्रपति संसद्लाई विचार गर्न भन्ने भनेर यस्ता घमण्डीहरूले तार्किक होइन बल, पाखुरा र मसलका कुरा गर्ने ? यस्ताले देश चलाउछन् ।’ नागरिकता विधेयकमा राम्रा र नराम्रो कुराको ख्याल नगरी फिर्ता पठाउने गठबन्धनको निर्णय सही नभएको ओलीको भनाइ थियो । उनले संसद् मा छलफल हुनुपर्ने र बाहिर निर्णय गर्नु संसदीय व्यवस्था नभएको बताए ।संघीय संसद् का दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनको अध्ययनपछि प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उनले साउन २९ गते पुनर्विचार गर्नका लागि भन्दै नागरिकता विधेयक फिर्ता गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News