सत्ता गठबन्धनको कार्यदलले बैठकमा अहिलेसम्म भएका छलफलको विवरण शीर्षस्थ नेतालाई अवगत गराउने भएको छ ।
बुधबारको बैठकले यस्तो निर्णय गरेको कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । मन्त्री कार्कीले भने–‘जुन जिम्मेवारी कार्यदललाई सुम्पेको छ, त्यो पुरा गर्ने अन्तिम चरणमा पुगेका छौं । अहिलेसम्मका छलफलका विवरण शीर्षस्थ नेताहरुलाई अवगत गराउनेछौं ।’ छलफलका विवरण शीर्ष नेताले अध्ययन गरेपछि सहमति सार्वजनिक हुने उनको भनाइ थियो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको निर्णयमा पुग्ने सहमतिका साथ बुधवारको बैठक सकिएको उनले बताए । सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुलाई कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भेट गरेपछि कार्यदलका सदस्यसँग छलफल गर्नेछन् । मन्त्री कार्कीले भने–‘विभिन्न मोडालिटीमा छलफल गरेका छौं । तिनै मोडालिटीलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ, त्यसको निष्कर्षको चरणतर्फ अगाडि बढ्नेछौं ।’ यसले मुलुकलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । मन्त्री कार्कीले न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने विषयमा गठबन्धनका सबै दलको सहमति रहेको बताए । ‘लामो छलफल भएको छ, मुलुकका निमित्त सकारात्मक छलफल भएको छ । निष्कर्षका लागि दुई दिन प्रतीक्षा गर्नुहोस् ।’ उनले भने ।
पछिल्लो समय सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)कै चुनाव चिह्नमा डा. बाबुराम भट्टराई पनि गठबन्धनकै दलका रुपमा जोडिन आएपछि यो विषयसमेत छलफलमा प्रवेश गरेको मन्त्री कार्कीले जानकारी दिए । यी लगायतका विषयमा शीर्षस्थ नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाइ थियो । सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यसयता निरन्तर कार्यदलको बैठक बस्दै आएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट डा. वेदुराम भुषाल, प्रमेश हमाल रहेका छन् । यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

