यहाँका अधिकाँश नागरिक स्वास्थ्य उपचारकालागि धरान, विराटनगर तथा छिमेकी राष्ट्र भारतको विभिन्न शहरमा पुग्ने गरेका छन ।
तर आखाँ उपचारका लागि भने राजविराज नै आकर्षणको केन्द्र बन्दै गएको छ । राजविराज नगरपालिका ९ मलेठमा २०५८ सालमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आँखा उपचारका लागी आउने गरेका छन् । सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको हो । सुरु सुरुमा आँखाको सामान्य उपचार गरिने र जटिल प्रकृतिको रोगीलाई लहान स्थित चौधरी आँखा अस्पताल लगी उपचार गरिने गरिएकोमा हाल ३० शैयाको अस्पतालको रुपमा विकास गरी विशेषज्ञ चिकित्सकको टोलीद्वारा मोतिया बिन्दुको शल्यक्रिया समेतको सेवा विस्तार गरिए पछि उपचारका लागि आउने विरामीको घुँइचो लाग्ने गरेको केन्द्रका प्रमुख एवं नेत्र अधिकृत डा.रामकुमार झा बताउँछन् । यहाँ दैनिक २ सय देखि ३ सय जना सम्म विरामी उपचारका लागि आउने गरेका छन् । विरामीहरुको अनुपात हेर्ने हो भने २० प्रतिशत भन्दा बढी सेवाग्राही भारतीय नागरिक हुने गरेको केन्द्रका प्रमुख झा बताउँछन् । भारतमा उपचार सेवा महँगो हुने र सेवा लिन निकै झन्झटिलो हुने गरेकाले नेपाल–भारत सीमा क्षेत्रमा वसोवास गर्ने नागरिक आँखा उपचारका लागि यतै आउने गरेको उनको भनाइ छ । केन्द्रबाट सन् २०२१ जनवरी देखि २०२१ डिसेम्बर सम्मको एक वर्षको अवधिमा २४ हजार ८१ जनाले उपचार सेवा प्राप्त गरेका छन् । जसमध्ये १ हजार २ सय ३ जना मोतियाबिन्दुका विरामीको सफल शल्यक्रिया गरिएको केन्द्रको रेकर्डले देखाएको छ । सोही अवधिमा उपचार सेवा लिएका २४ हजा ८१ जना मध्ये ४ हजार १ सय ३ जना भारतीय नागरिक छन् ।
यस्तै सन् २०२२ जनवरीदेखी हालसम्मको ८ महिनाको अवधिमा एक हजार २ सय २ जना आँखाका बिरामीले उपचार सेवा पाएका छन् । जसमध्ये ३ सय ६ जना भारतीय नागरिक छन् । आँखा सम्बन्धि विभिन्न रोगका दैनिक उपचार सेवा प्रदान गर्दै आएको केन्द्रले साताको १ दिन अतिन्यून शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । केन्द्रका प्रमुख डा.झाले २ हजार ५ सय रुपैया मै मोतियाबिन्दुको शल्यक्रिया गरिदै आएको र सो शुल्क नेपालको अन्य आँखा अस्पतालको शुल्क भन्दा सबै भन्दा कम रहेको दाबी गरे । चौधरी आँखा अस्पताल लहानबाट आउने विशेषज्ञ सहितको चिकित्सक टोलीले शल्यक्रिया उपचार सेवा प्रदान गर्ने गरेको उनको भनाइ छ । न्यून आय भएकाले पनि सस्तोमा मोतियाबिन्दुको शल्यक्रिया गर्न पाउन भन्ने उद्देश्यले यस्तो शुल्क निर्धारण गरिएको उनको भनाई छ । उनले फेको सर्जरीका लागी पनि पहल थालिएको बताए । ‘नेपालबाट अन्धोपन हटाउने अभियानमा छौ, यस क्रममा विद्यालय र मदरसाहरुमा समेत पुगेर आँखाको निःशुल्क उपचारका साथै आँखाको रोगबाट बच्ने उपायबारे सचेतना अभियान थालिएको छ,’ उनले भने । यसक्रमा अघिल्लो महिना मात्र विद्यालय र मदरसामा पुगी १ हजार भन्दा बढी बालबालिकाको निःशुल्क आँखा उपचार तथा करिब ३ सय बालबालिकालाई औषधि संगै चश्मा समेत निःशुल्क वितरण गरिएको उनले जानकारी दिए । यस्तै राजविराज नगरपालिकाको सबै १६ वटै वडाका स्वास्थ्य चौकीका २÷२ जना स्वास्थ्यकर्मीलाई चौधरी आँखा अस्पतालका विशेषज्ञहरुबाट पिक भिजन सम्बन्धी तालिम प्रदान गरिएको र यसबाट आ–आफ् ना वडामा समेत आँखा सम्बन्धी रोगको प्रारम्भिक उपचार र सल्लाह प्राप्त हुने उनको भनाइ छ । उपचारका लागि आउनेको संख्या बढ्दै गएपछि व्यवस्थापनमा भने चुनौती थपिएको उनको भनाई छ ।
उनले हाल केन्द्रमा १ जना नेत्र अधिकृत, १ जना नेत्र सहायक अधिकृत तथा चौकीदार र सरसफाईकर्मी सहित ११ जना कर्मचारी कार्यरत रहेको बताए । “भिजन परीक्षण, व्यवस्थापन लगायत तर्फका जनशक्तिको अभाव छ, उनले भने–‘साधन श्रोत र जनशक्ति थपिए अझ प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रदान गर्न सक्षम र सफल हुनेछौं ।’ स्थानीयले भने नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आउने गरेकाले केन्द्रको स्तरोन्नति गर्न माग गरेका छन् ।

