सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईलाई अनुशासनहीन र अराजक तत्वको संज्ञा दिएका छन् ।
पार्टीको काठमाण्डुमा जारी राजनीतिक समितिको बैठकमा प्रस्ताव पेस गर्दै शुक्रबार उनले भट्टराईकै कारण पार्टी गतिविधि ठप्प भएको आरोप लगाए । ‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र बाबुराम र उहाँ निकटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न ग¥यो । कतिपय प्रदेश तथा जिल्लामा पार्टी जीवन नै ठप्प हुन पुग्यो,’ यादवले भनेका छन्, ‘पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरू भएको छ ।’ उनले यस्तो विशेष परिस्थितिमा पार्टी समिति र जनवर्गीय÷भातृ सङ्गठनलाई पुनर्गठन वा अद्यावधिक गर्न आवश्यक रहेको बताए । पार्टीलाई व्यवस्थित र विधिसम्मत रूपले अगाडि बढाउन उनले सुझावसमेत दिएका छन् । पार्टी एकीकरणसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकताबद्ध भएका केही नेता कार्यकर्ताहरुले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको यादवले बताएका छन् । पार्टीको विधि, पद्धतिअनुरूप पार्टीभित्र वैचारिक बहस नगरेर सामाजिक सञ्जालहरूमा बहस गर्न थालेको उनले आरोप लगाएका छन् । ‘ पार्टीको विधि, पद्धतिअनुरूप पार्टीभित्र वैचारिक बहस गरेको भए राम्रो हुन्थ्यो । तर, पार्टीभित्र भन्दा सामाजिक सञ्जालहरूमा बहस गर्ने अराजकता र अनुशासनहीनता देखाप¥यो । फलस्वरूप पार्टीभित्र समस्या सिर्जना भए,’ उनले भनेका छन्,‘ यही कुरा पनि पार्टीको विधि पद्धतिअनुरूप पार्टीभित्र वैचारिक वहस गरेको भए राम्रो हुन्थ्यो ।’ अध्यक्ष यादवले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बन्न २ वटा मापदण्ड र ७ योग्यता चाहिने प्रस्ताव गरेको छ ।
जसपाको राजनीतिक समिति बैठकको प्रस्तावमा अध्यक्ष उपेन्द्र यादवले शुक्रबार मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका छन् । उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सकृयता, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट अन्तिम निर्णय गरिने बनाइएको छ । उम्मेदवारहरुको योग्यता सम्वन्धी तोकिएको मापदण्डमा पार्टीको विचार नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्ने, पार्टीको समितिमा संगठित र सकृय रहेको, पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने, स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्वन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको र सुशासनको प्रत्याभूति गर्नसक्ने रहेको छ । यसैगरी, अध्यक्ष यादवले उम्मेदवार छनोटको प्रक्रिया समेत प्रस्ताव गरेका छन् । उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मदवारहरूका नामावली आ–आफ्नो जिल्ला समन्वय समितिलाई यही भदौ ११ गतेभित्र सिफारिस गर्नुपर्नेछ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवार हरुको नामावली माथिल्लो (प्रदेश) समितिलाई भदौ १६ गतेभित्र सिफारिस गर्नुपर्नेछ । यस्तै प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावली उपर छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा भदौ २० गते भित्र सिफारिस गरी पठाउनुपर्नेछ । संसदीय बोर्डले प्रस्तावित भइआएका उम्मेदवारहरुको सम्बन्धमा आवश्यक छानबिन गरी यथाशिघ्र निर्णयका लागि भदौ २५ गते भित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउने भनिएको छ । उपरोक्त तहहरुमा उम्मेदवारहरुको नामावली सिफारिस गर्दा महिला उम्मेदवारहरुलाई समावेश हुने गरी समावेशितालाई समेत ध्यान पुरयाउनुपर्ने अध्यक्ष यादवले प्रस्ताव गरेका छन् ।


