
आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिकदलहरुले उम्मेदवारको टुगो लगाएको छैन ।
तर सप्तरीमा दर्जनौ आकांक्षीले आ–आफ्नै स्तरबाट उम्मेदवारी घोषणा गर्ने होड बढेको छ । कसैले मतदातालाई भेटेर त कतिपयले सामाजिक संजाल फेसबुक मार्फत समेत धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ गरी १२ पदका लागि निर्वाचन हुनेछ । शनिवार सम्ममा सामाजिक संजाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गर्नेको संख्या ४६ भन्दा बढी पुगेको छ । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा बहालवाला सांसददेखि २०७४ को निर्वाचनमा पराजित भएको, स्वतन्त्र भई चुनाव लडेको तथा पहिलो पल्ट चुनाव लड्ने तयारी गरेका नयाँ अनुहार सम्म छन् । उम्मेदवारका आकांक्षीले यसरी उम्मेदवारी घोषणा गर्दा केही स्वयमले सामाजिक संजालमा पोष्ट गर्ने गरेका छन भने अधिकांशले समर्थक मार्फत यस्तो पोष्ट गर्न लगाउने गरेको पाइएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने आफू पार्टीको निर्णयअनुसार नै गृह जिल्ला सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बन्ने बताएका छन् । उनले रोजेको निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । अध्यक्ष यादव यस पल्ट सोही क्षेत्रबाट चुनाव लड्ने÷नलड्ने बारे टुंगो लागेको छैन । यसबारे पार्टी भित्र छलफल चलिरहेको अध्यक्ष यादव बताउदै आएका छन् । जनमत पार्टीले (एक निर्वाचन क्षेत्रमा) बाहेक अन्य कुनै पनि राजनीतिक दलको भने अहिले सम्म उम्मेदवारको टुंगो लागेको छैन । तर विभिन्न दल र स्वतन्त्रबाट कोही प्रदेश त कोही, प्रतिनिधि सभाको उम्मेदवार हुने भनि सामाजिक संजाल फेसबुक मार्फत दैनिक जसो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसरी सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरेकाहरु मध्येका एक जनासँग जिज्ञासा राख्दा नाम न छापिदिन आग्रहका साथ भने, बच्चा न रुँदा सम्म कतिपय आमाले भोक नलागेको होला भनी ठानेर दुध खुवाउँदैनन, त्यस्तै आफू पनि उम्मेदवारको आकांक्षा राखेको छु, भन्ने कुरा समयमै पार्टीका नेतालाई जनाउने उद्देश्यले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेको हुँ । यता दलका नेता र कार्यकर्ताबीच आधिकारिक उम्मेदवार बन्न चर्को प्रतिस्पर्धा पनि जारी छ । मुख्य दलहरु भित्र उम्मेदवारको दाबेदारीसँगै सम्भावित उम्मेदवारको नाम अघि सारेर जनमत बुझ्ने काम सुरु भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका निर्वतमान जिल्ला सभापति दिनेश कुमार यादवले गठबन्धनको साझा उम्मेदवार बनाउने वा शक्ति सन्तुलनको आधारमा एकला एक्लै लड्ने भन्ने दुबै विषयमा गम्भीर छलफल भइरहेको र सो बारे टुंगो लागि नसकेको बताए ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक ५ पालिका जितेर जिल्लामा पहिलो पार्टी बनेको जिकिर गर्दै सोही आधारमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले सिट बाँडफाँटमा सम्मानजनक स्थान पाउनुपर्ने तर्क राखे । लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाले नेता र कार्यकर्ताबीच भित्र भित्रै उम्मेदवारीका लागि तछाड मछाड चलिरहेको बताए । फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेर हुँदैन, पार्टीले सबैको गतिविधि नजिकबाट नियालि रहेको छ, उनले भने, धरातलमा बसेर काम गर्ने र सक्षम व्यक्तित्वहरुले टिकट पाउने छन् । उनले उम्मेदवारका आकांक्षीहरुको सूची लामै भएपनि केही दिनमै पार्टीका केन्द्रीय नेताहरुको बैठक बसी सोबारे अन्तिम टुंगो लगाउने जानकरी दिए । उनले कतै तालमेल त कतै एक्लै प्रतिस्पर्धामा जाने तयारी समेत रहेको बताए । जसपाका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डलले आकांक्षीहरुको निकै दौडधुप बढेको भएपनि अहिले टुंगो लागि नसकेको र गहन छलफल भइरहेको बताए । उनले जसपा अध्यक्ष यादव सप्तरीको २ नं. क्षेत्रबाटै पुनः प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दोह¥याउने बलियो सम्भावना रहेको बताएका छन् । सप्तरी जिल्लामा आगामी मंसिर ४ मा हुने निर्वाचनमा नयाँ थपिएको ९ हजार १ सय १४ सहित कुल ४ लाख २१ हजार ५ सय ५९ मतदाता छन् । जसमध्ये पुरुष २ लाख १८ हजार ७ सय ३१, महिला २ लाख २ हजार ८ सय ७ र अन्य २१ जना छन् । यसैबीच निर्वाचन कार्यालयले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया भाद्र १२ गते देखि प्रारम्भ गर्ने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीप कुमार जोशीका अनुसार भदो १२ देखि भदो १९ सम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत)को कार्यक्रम संचालन हुनेछ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात भाद्र ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।