अपडेट 
२०७९ भाद्र ६, सोमबार ०७:०९

‘कुनै समयमा सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमिन्दार भनिने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राखेका थिए । यो काम छूवाछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो,’ प्रदीप गिरिलाई बुझ्न यही उदाहरण पर्याप्त रहेको छ । प्रदीप गिरि पहाडी समुदायका थिए तर उनको रहनसहन, बोली व्यवहार र विचार खाँट्टी मधेशीसँग मेल खान्थ्यो । उनी आफै खस समुदायका थिए तर विभेदमा परेका आदिवासी जनजाति, मधेशी, दलितका आवाज थिए उनी । उनी कांग्रेसका नेता थिए तर विचार र व्यवहार वामपन्थीजस्तै थियो । त्यसैले त्यत्रो मधेश आन्दोलन हुँदा पनि प्रदीप गिरि मधेशका प्यारा भएर बसे । त्यतिबेला थुप्रै पहाडीहरु मधेश छाड्न बाध्य भएका थिए तर प्रदीप गिरि मधेशी मुद्दा र एजेण्डाका साथ भएका कारण मधेश आन्दोलनको एउटा हिस्सा भएर बसे । नेपालको संविधान २०७२ अधुरो छ, अपुरो छ । मधेशी आदिवासी जनजातिको माग सम्बोधन गरिएको छैन भन्दै उनले संविधानमा हस्ताक्षर गरेनन् । यसरी पार्टी ह्वीपलाई उनले उल्लघंन गरेका थिए । मधेशको माग संविधानमा सम्बोधन नगरेको भन्दै मधेशवादी दलका नेताहरु संविधान निर्माणलाई बहिष्कार गर्दै जारी संविधानमा हस्ताक्षर गरेका थिएनन्, त्यसमा कांग्रेसका नेता प्रदीप गिरिले साथ दिएका थिए । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदीप गिरिलाई मधेश आन्दोलनको हिमायतीको संज्ञा दिन्छन् ।

उनी भन्छन्, ‘मधेश आन्दोलन सफल बनाउनुमा प्रदीप गिरिको ठूलो सहयोग थियो । उहाँ मधेश आन्दोलनको हिमायती हुनुहुन्छ, उहाँ हरहमेशा मधेशी जनताको साथमा रहनु भयो ।’ त्रुटिपूर्ण संविधानमा हस्ताक्षर नगरेर उनले आफू मधेशी जनताको साथमा रहेको प्रमाण दिएको अध्यक्ष यादवको ठहर छ । उनले भने, ‘असली समाजवादी नेता उहाँ नै हुनुहुन्थ्यो, यहाँ अरु सबै देखावटी हुन् ।’ मधेश आन्दोलन मात्र होइन, २०३६, २०४२, २०४६ को जनआन्दोलन, जनयुद्ध, जनविद्रोह, २०६३ को जनआन्दोलन पनि सफल बनाउन उनको ठूलो भूमिका थियो । तर, उनी आफू दृश्यमा कहिले नआउन नचाहेको अध्यक्ष यादव बताउँछन् । हरेक आन्दोलन, हरेक पीडित समुदायको आवाज उनी थिए । मधेश मामिलाका जानकार तुलानारायण साह भन्छन्, प्रदीप गिरिले संविधानमा हस्ताक्षर नगर्नु नै एउटा आन्दोलन हो, प्रदीप गिरि मधेश र मधेशीको साथमा हुनुहुन्छ भने कुराको प्रमाण यो भन्दा अरु केही हुनै सक्दैन ।’ मधेशवादी दलका नेताहरुको बारेमा उनको सोच र बुझाई फरक हुन सक्छ होला तर मधेशको मुद्दा र एजेण्डाको बारेमा स्पष्ट रहेको बताउँदै उनले खस आर्य भएर पनि प्रदीप गिरि जस्ता व्यक्तिले मधेशको एजेण्डाको बारेमा बोल्दिनु, केही लेख्दिनु ठूलो कुरा रहेको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादव तत्कालीन अवस्थामा आफू भारतमा प्रवासी हुँदा प्रदीप गिरिले उनलाई लिएर भारतीय नेताको घरघरमा गएर चिनजान गराएको सम्झिन्छन् । त्यसबेला उपेन्द्र यादव नेपाली राजनीतिका लागि निकै सम्भावना भएका नेता भएको कुरा पनि उनले उल्लेख गरेका थिए ।

Comment

Related News

Latest News

Trending News