बारामा अश्लिल भिडियोमा काम गरेको भन्दै एक महिलालाई बदनाम गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अश्लिल भिडियोमा काम गर्ने महिला स्थानीय महिला हो भन्ने दाबी गरी हल्ला फिजाउँने ती ब्यक्तिहरुलाई बारा प्रहरीले कलैया बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने करिव २६ वर्षीय अजय कुमार सर्राफ , २८ वर्षीय विकास सर्राफ , ३२ वर्षीय रमेश कुमार साह र वडा नं.३ का मैनुल्लाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुले अश्लिल (पोर्न) भिडियोमा काम गर्ने भारतीय महिला अञ्जली अरोराको भिडियोलाई गाउँघरमा एक स्थानीय महिलाकै भिडियो हो भन्दै हल्ला फिजाउँदै बदनाम गर्दै हिडेका थिए । स्थानीय उक्त महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले चारै जनालाई पक्राउ गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
प्रहरी उपरीक्षक बोगटीले पक्राउ परेकामाथि अनुसन्धान भईरहेको बताए । उनले सामाजिक सञ्जाल लगायत बिभिन्न माध्यमबाट समाजमा हल्ला फिजाउँने छुट कानूनले कसैलाई नदिएका कारण, सत्यतथ्य बुझेर मात्र कसैलाई कुनै कुरा भन्न वा सामाजिक सञ्जालमा शेयर गर्न अनुरोध गरे । कानूनले वञ्चित गरेको त्यस्ता क्रियाकलाप गर्नेलाई कानून बमोजिम कारवाही हुने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।



