बालबालिकाको समस्या समाधान गर्न प्रदेश प्रमुख हरि शंकर मिश्रलाई ज्ञापनपत्र बुझाइएको छ ।
आइतबार कन्सोर्टियम नेपाल नामक संस्थाको नेतृत्वमा बालबालिकाहरुले मधेश प्रदेश प्रमुख मिश्रलाई ज्ञापनपत्र बुझाएका हुन् । बालबालिकाहरुले ज्ञापनपत्रमा ६ बुंदे माग उल्लेख गरेका छन् । मधेश प्रदेशमा बालबालिकाको क्षेत्रमा आवश्यक कानून, नीति, कार्यक्रम र लगानी बढाउन, स्थानीय तहमा नीतिगत व्यवस्था गर्न र बालअधिकार समिति गठनको माग गरिएको छ । स्थानीय तहमै बालकल्याण अधिकारीको व्यवस्था, बालकोषको व्यवस्था तथा कार्यान्वयन, बालमनोविज्ञान तथा सामाजिक कार्यकर्ता लगायतका बालबालिकासँग सम्बन्धित व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्न सहजीकरणका लागि ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ । ‘बाल विवाहसहितका सबै कुरीतिहरु अन्त्यका लागि काम गर्ने, सबै ठाउँमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन कार्यविधि निर्माण गर्ने र बाल सहभागिता सम्बन्धी आयोजनाहरुमा लगानी गर्नुपर्ने,’ज्ञापनपत्रमा माग गरिएको छ ।
यस्तै, स्थानीय तहको योजनामा कम्तीमा दश प्रतिशत बजेट विनियोजन हुनुपर्ने, बालमैत्री स्थानीय शासनको अवलम्बन गर्नुपर्ने, सूचकहरुको प्रभावकारी कार्यान्वयन र घोषणा गरी स्थानीय तहमा बालमैत्री अभियानलाई अघि बढाउन माग गरिएको छ । न े प ा ल सरकारले बालअधिकार सम्बन्धी महासन्धिलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । संयुक्त राष्ट्र संघीय बलाअधिकार समितिलाई सरकारले नियमित रुपमा आवधिक प्रतिवेदन पठाउँदै आएको छ । २०२३ मा पुनः अर्को प्रतिवेदन नागरिक समाजको प्रतिनिधित्व र बालबालिकाको नेतृत्वमा पठाउने तयारी भइरहेको छ । कन्सोर्टियम नेपालले सन् २०१४ बाट उक्त प्रतिवेदन बुझाउने गरेको छ । त्यसकै लागि कन्सोर्टियम नेपालले आइतबार मधेश प्रदेशको १९ जना बालबालिकाको सहभागितामा कार्यशाला गोष्ठी पनि गरेको छ ।



