राष्ट्रिय भूमिआयोग जिल्ला समिति सप्तरीले आइतवार आफ्नो ४ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।
२०७९ बैशाख पहिलो सातामा पूर्णता पाई जिम्मेवारीमा आएको समितिले पत्रकार सम्मेलनको आयोजना गरी ४ महिनाको छोटो अवधिमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको हो । प्रगति विवरण प्रस्तुत गर्दै समितीका अध्यक्ष हरेराम यादवले यस अवधिमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि जिल्लाको १८ मध्ये पहिलो चरणमा अग्नीसाइर कृुष्णासवरण गाउँपालिका र तिलाठी कोइलाडी गाउपालिकासँग द्विपक्षीय सम्झौता गरी कार्य अघि बढाइएको जानकारी दिए । यस क्रममा अग्नीसाईर कृष्णासवरण गाँउपालिकाको विभिन्न वडामा नाप जाँचको काम भइरहेको तथा तिलाठी कोइलाडी गाउँपालिकाको ८ वडा मध्ये १ र २ वडा वाहेक सबैमा लगत कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । यस्तै कंचनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी, डाक्नेश्वरी, शम्भुनाथ, सुरुङ्गा, खडक र बोदेवर्साईन नगरपालिका तथा रुपनी र महदेवा गाउँपालिका संग पनि नयाँ सम्झौताको काम पूरा भई लगत संकलन सम्बन्धी ३५ दिने म्याद सहित सूचना प्रकाशित गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सम्झौता अनुसार सम्बन्धित पालिकाले सेवा केन्द्र संचालन गरी पालिका स्तरीय सहजीकरण समिति गठन गर्ने कार्य समेत तीब्र बनाएको समितिका सदस्य समेत रहेका नापी कार्यालयका प्रमुख शत्रुघन प्रसाद यादवले जानकारी दिए । विगतका आयोग, समिति र कार्यदलमा बुझाइएको निवेदन र अन्य कागजातहरु झिकाई अध्ययन गरी अन्तिम निर्णयमा पुग्ने सो अवसरमा जानकारी गराइएको थियो ।

