
झारीमा लुकाई राखेको अवस्थामा आईतवार एकाविहान ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।
कोशी ब्यारेजस्थित सुरक्षा वेश क्याम्प भारदहबाट खटेको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ सप्तकोशी किनारको पटेर झारीमा लुकाई राखिएको २ सय ४० केजी अबैध गाँजा बरामद गरेको हो । ९ वटा प्लास्टिकको बोरामा लुकाई राखिएको अवस्थामा फेला परेको गाँजा आइतवार आवश्यक कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदीप खडकाले जानकारी दिएका छन् । तस्करहरुले पटेर झारीमा गाँजा लुकाईराखेको गोप्य सुचना आएपछि सुरक्षा वेश क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमाण्डमा सात जनाको टोली खोज तलाशको क्रममा सो परिमाणको गाँजा बरामद गरेको थियो । गाँजा लु्काई राख्ने व्यक्तिको भने खोजी कार्य जारी रहेको बताइएको छ । त्यस क्षेत्रमा विभिन्न व्यक्तिले लुकिछिपी गाँजा खेती गर्दै आएका छन् । यसरी उत्पादन गरेको गाँजा सीमावर्ती भारतीय बजारमा प्रतिकेजी १२ हजार देखि १५ हजार रुपैया सम्ममा बिक्री हुने गरेको छ ।
त्यस्तै, बाराको जितपुर स्थित टेडा रोडबाट १२ केजी गाँजासहित दुई युवक पक्राउ परेका छन् । आइतबार प्रहरीले चेकजाँच गर्दा जितपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा १२ बस्ने वर्ष २६ को राम कुमार प्रजा र त्यही नगरपालिकाको वडा नं.१८ वर्ष बस्ने युवराज प्रजालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । दुई वटा पोकामा १२ किलो गाँजा राखेको अवस्थामा जीतपुरको टेडा रोडबाट युवकहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक अजय रामले जानकारी दिए ।