अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०६:५१

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि राजिनामा दिन चर्को दबाब परेको छ ।

राउतका अत्यन्त विश्वासपात्र एकजना सहयोगीले जनाए अनुसार राजिनामा दिन चर्को दबाब रहेकोछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा भइसकेको अवस्थामा राउतलाई राजिनामा दिन दबाब बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ८ जना कर्मचारीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेपछि पार्टीमा राउतको राजिनामा माग गरिएको हो । राउतका निकट सहयोगीले राजिनामाका लागि उच्च दबाब रहेको पुष्टि गरे । प्रदेश सरकारका केही मन्त्रीहरुलाई टेलिफोन मार्फत मुख्यमन्त्रीलाई राजिनामाको दबाब रहेको सूचना राउतका हितैषीले दिएका थिए । जनता समाजवादी पार्टी(जसपा)नेपालको राजनीतिक समितिको बेठकमा सहभागी हुन काठमाण्डु आएका मुख्यमन्त्री राउत अझै जनकपुरधाम फर्केका छैनन् । उनलाई राजिनामा गर्न दबाब आए पनि राउत सहजै राजिनामा गर्ने पक्षमा देखिएका छैनन् । मुख्यमन्त्रीको राजिनामाको औपचारिक रुपमा कतैबाट पुष्टि गरिएको छैन् । पार्टीका प्रवक्ता मनिष सुमनले यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । त्यसैगरी सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले पनि मुख्यमन्त्री राउतको राजिनामाको विषयमा कुनै सत्यता नभएको बताए । मुख्यमन्त्री राउतले पनि राजिनामाको विषयलाई ठाडै अस्वीकार गर्दै भने, मैले राजिनामा किन दिने ?राजिनामा दिनु पर्ने कुनै कारण नभएको दाबी गर्दै पार्टीमा समेत राजिनामाको विषयमा कुनै छलफल अथवा चर्चा समेत नभएको उनले बताए ।

दिनभरि पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगै रहेको बताउँदै राउतले भने, केही गलत तत्वले राजिनामाको अफवाह फैलाएका छन् । गलत प्रचारवाजी गरी मुख्यमन्त्रीको कुर्सी ताक्नेले अर्को पटक अझ बढी मिहिनेतका साथ आउनु पर्ने उनले बताए । अख्तियारले मुद्दा गरेपछि राउतलाई नैतिक रुपमा राजिनामा दिनुपर्ने हलुका किसिमले प्रदेश सभामा प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले माग गरे । राजिनामा दिन विपक्षी दलहरुले कुनै दबाबमूलक कार्यक्रम समेत नल्याएको बेला पार्टी भित्रैबाट राउतको राजिनामा प्रकरण सोमवार चुलिएको छ । भरपर्दो स्रोतका अनुसार बिहान राउत स्वयंले आफू हटे मुख्यमन्त्रीका लािग सघाउने प्रस्ताव केही सभासदलाई राखेका थिए ।राजिनामाको दबाब चर्किए संसदीय दलमा बहुमत साबित गर्न सक्ने जोहोमा समेत राउत रहेका छन् । यद्यपि सोमवार बिहान राउतको निरीहता देखिए पनि राती अचानक ताकतवर रहेको स्वर निकालेका थिए । मधेश प्रदेशमा मन्त्रीहरु थपघट भए पनि मुख्यमन्त्री राउत निरन्तर छन् । राउतको नेतृत्वमा चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसक्ने उच्च तहका जसपाका नेताहरुको आकलन छ । एउटा मुद्दामा राउत जोगिए पनि अन्य कयौं मुद्दामा उनी अख्तियारको फन्दामा पर्न सक्ने आशंका गरिएको छ । तर तत्काल अख्तियारले मुद्दा दर्ता नगर्नेमा राउत ढुक्क छन् । राउतको राजिनामाको चर्चासँगै मुख्यमन्त्रीका लागि सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्र साह, मनिष सुमन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवको नाम वहसमा आएको थियो । सभामुख दलको सदस्य हुने प्रावधान नरहेकाले उनी हाल कुनै दलको औपचारिक रुपमा सदस्य छैनन् ।तर जसपाले उनलाई चुनावमा महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि ल्याउने तयारी गरेको स्रोतले जनाए ।

राजिनामा बारे पुष्टि गर्न कसैले नचाहे पनि राउत र उनका सहयोगीबाट विहान प्रवाह भएको सूचनाले राजिनामाका लागि दबाब रहेको पुष्टि गरेको छ । तर साँझ राजनीतिक परिस्थ्तििमा बदलाव आएको मुख्यमन्त्रीको प्रतिकृयाबाट बुझिन्छ । मधेश प्रदेशमा स्थायी सरकार रहे पनि आम नागरिकलाई विकासको अनुभूति हुने ठोस काम गर्न नसकेको आरोप छ । मुख्यमन्त्री कार्यालयकै कयौं योजनामा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिहेको छ ।सरकारले भ्रष्टाचार सम्बन्धी आरोपको खण्डन समेत गर्न सकेको छैन् ।

 

नेपालको संविधानको धारा १६९ मा मुख्यमन्त्रीवारे यसरी उल्लेख गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था

 देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछ

क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजिनामा दिएमा,

ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेकोमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,

ग) निज प्रदेश सभाको सदस्य नरहेमा र

घ) निजको मृत्यु भएमा ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News