२०७९ भाद्र ७, मंगलवार ०८:२१

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले बैवाहिक अंगिकृत नागरिकतामा समय सीमा राख्ने कुराले मुलुकलाई अझै पछि धकेल्ने बताएका छन् ।

सोमबार राजविराजमा लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । “समय सीमा राखेर बैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कुरा पनि कतै कतैबाट उठ्ने गरेको छ, उनले भने ‘पहिलेको व्यवस्थालाई पनि यसले कटौती गर्ने भएका कारण मुलुक पछाडि फर्काउने नियतले यस्तो भनिएको हो’ । संविधानमा मधेशी, आदिवासी, जनजाति, मुश्लिम, सिमान्तकृत लगायत समुदायको पूर्ण अधिकार अहिले पनि सुनिश्चित नभएको बताउँदै उनले त्यसका लागि आफूहरुको संघर्ष जारी रहेको छ भने । मधेशका नाउमा खुलेका दलहरुले मधेशबाट भोट लिएर गएपनि मधेशीका लागि के के गरे भन्ने कुराको निर्मम समीक्षा गर्नुपर्ने समय आएको भन्दै उनले यसबारे गम्भीर भएर सोच्न आग्रह गरे । सोही कार्यक्रममा बोल्दै अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले निर्वाचनमा गठबन्धन बाध्यता रहेको भन्दै आफूहरु लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे । “लोकतन्त्र, पहिचान र अधिकार हाम्रो मूल लक्ष्य हो, उनले भने ‘बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरी हामीले त्यस्तो विचार मिल्ने दलसित गठबन्धनको सोच बनाएका छौं । त्यस्तै, मधेश प्रदेश सभाका प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले मधेशवाद र लोकतन्त्रका लागि संघर्षरत आफ्नो पार्टीले यसलाई कुनै पनि हालतमा छोड्न नसक्ने जिकिर गरे ।

लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षमा आयोजित कार्यक्रमलाई लोसपाका अर्का वरिष्ठ नेता अनिल झाका साथै जयप्रकाश ठाकुर, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले पनि धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News