अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०८:३५

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर रोयल नामको टिम पनि हुने भएको छ ।

भारतीय गोल्ड स्पोर्ट्स प्रा.लि. कम्पनीले जनकपुर रोयलको स्वामित्व लिएका छन् । आगामी सितम्बर २२ देखि काठमाण्डुमा एनपीएल हुन लागेको छ । सितम्बर पहिलो सातादेखि खेलाडी खरिद प्रकृया अगाडि बढ्ने छन् । सोमबार गोल्ड स्पोर्ट्सका निर्देशक गौरीशंकर धमानीले जनकपुरधाम आएर उक्त जानकारी गराएका हुन् । आठ वर्षका लागि उनले जनकपुर रोयल टिम खरिद गरेका छन् । उनका अनुसार प्रतियोगितामा जम्मा ६ वटा टिम सहभागी हुने छन् । जस मध्ये ४ वटा टिमको नाम घोषणा भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गर्न लागेको लिगमा जनकपुर रोयल, विराटनगर, लुम्बिनी अल स्टार्स र कान्तिपुर क्यापिटल गरी चार टोलीको नाम तय भइसकेको छ । लिगमा अन्य दुई टोलीको घोषणा हुन बाँकी छ । लिगमा ६ टिम गरी ९६ वटा खेलाडी खरिद हुने छ । जस मध्ये ६६ वटा नेपाली, २४ वटा भारतीय र ६ वटा अन्य देशको खेलाडीलाई सहभागिता गराइने क्यानको तयारी छ । जनकपुर रोयलका निर्देशक धामनीले जानकी माताले सेवा गर्न बोलाएको बताए । ‘जानकी माताको नगरीमा खेल जगतको लागि सक्दो सहयोग गर्छु,’उनले भने,‘जनकपुरधामको विकासका साथै यहाँको खेलको विकासका लागि काम गर्ने अवसर पाएकोमा खुशी छु ।’

जनकपुरमा खेल क्षेत्रको अन्य विकासमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता गरे । लिगले नेपाली क्रिकेटलाई अर्को स्तरमा पु¥याउने आशा गरिएको छ । जनकपुर रोयल नाम लिगमा परेपछि समग्र विकासमा टेवा पुग्ने धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेको विश्वास छ । पर्यटन र खेलको विकासमा थप टेवा पुगेको उनले बताए । यस्तै जनकपुर रोयल नामले स्थानीय खेलाडीमा उर्जा थप्नुसँगै खेलाडी उत्पादनमा महत्तवपूर्ण भूमिका खेल्ने आशीष झाले बताए ।

Comment

Related News

Latest News

Trending News