सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन ।
उजुरीकै क्रममा तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहविरुद्ध पनि परेको छ । तिलाठी कौइलाडी–६ की उपाध्यक्ष साहविरुद्ध सोही वडाकी सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । उजुरीकर्ताका सासू लक्ष्मीनियादेवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुई पटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको मण्डलले आरोप लगाएकी छन् ।
प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ गौतमले जानकारी दिए । प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए ।
सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए । सप्तरीसहित देशैभरी मिटर ब्याजीपीडितहरू दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

