मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको तलवमा दुई हजारको वृद्धि भएको छ ।
प्रदेशमा भ्रष्टाचारको वृद्धि भइरहेको बेलामा मुख्यमन्त्रीदेखि राज्यमन्त्री सम्मको तलवमा वृद्धि भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसद लगायतको तलब तथा सेवासुविधामा वृद्धि गरेको हो । गत असार २३ को मन्त्रिपरिषद्को निर्णयअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, प्रदेशसभा सदस्य र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार रुपैयाँ थप गर्ने र क्र.सं. ५ को सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘ प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णयसमेत गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९ सय ७० रुपैयाँ तलब पाउने भएका छन् भने मन्त्रीले ५९ हजार ७ सय ८० रुपैयाँ, राज्यमन्त्रीले ५८ हजार ४ सय ९० रुपैयाँ र सहायक मन्त्रीले ५५ हजार रुपैयाँ तलब पाउने छन् । त्यस्तै मुख्यमन्त्रीलाई प्रतिमहिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रतिगाडी प्रतिमहिना ३ सय लिटर इन्धन पाउने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेको जनाइएको छ । त्यसैगरी मन्त्रीले प्रतिमहिना २ सय ५०, राज्यमन्त्रीले २ सय २५ र सहायक मन्त्रीले २ सय लिटर सवारी इन्धन यसअघि पाउँदै आएका थिए ।
प्रदेशसभाका पदाधिकारी र प्रदेशसभा सदस्यहरुको समेत दुई हजार रुपैयाँ तलब बढाउने निर्णय गरेको छ । यस्तै, सभामुखले प्रतिमहिना ६१ हजार रुपैयाँ, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७ सय ८० रुपैयाँ, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४ सय ९० रुपैयाँ, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार रुपैयाँ र सदस्यहरुले ५४ हजार ६ सय रुपैयाँ तलब पाउने छन् । त्यसैगरी प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४ सय ९० रुपैयाँ र सदस्यहरु ५३ हजार रुपैयाँ तलब पाउँदै आएकामा अबदेखि उनीहरुको तलब क्रमशः प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायक मन्त्रीसरह हुनेछ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=27KHrXfgOBA