२०७९ भाद्र ९, बिहीबार ११:१२

राजविराज । ११ वर्ष अघि शिलान्याश भएपनि बजेट अभावका कारण रोकिएको विपद् व्यवस्थापन सामग्री भण्डारगृहको भवन निर्माण कार्य अहिले आएर पूरा भएको छ ।

मधेश प्रदेश सरकार विभिन्न स्थानीय तह र संघ–संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न भएपछि उक्त ५ कोठे विपद् व्यवस्थापन सामग्री भण्डार गृह भवनको बुधबार मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले उदघाटन गरेका छन् । सप्तरीको राजविराज स्थित नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको हाता भित्र रहेको १ कठ्ठा जग्गामा ६९ लाखको लागतमा निर्मित भण्डार गृहमा प्राकृतिक विपद्मा आवश्यक पर्ने सामग्री तथा विभिन्न संघ संस्था लगायतका दातृ संस्थाबाट प्राप्त हुने राहत सामग्री भण्डारण गरिने नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतले बताए । उक्त भवनको उद्घाटन गर्दै अर्थमन्त्री साहले रेडक्रस लगायत अन्य सबै सामाजिक संघ संस्थालाई प्रदेश सरकारले यथाशक्य सहयोग दिदै आएको र भविष्यमा समेत सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थालाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले विपद् ब्यवस्थापन प्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै विपद्मा हटेर होइन डटेर सामना गर्न सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिए ।



नेपाल रेडक्रस सोसाईटीका तत्कालीन केन्दी्रय सभापति संजिव थापाले ०६८ सालमा प्रस्तावित भण्डार गृह भवको शिलान्यास गरेका थिए । तर आवश्यक रकमको अभावका कारण निर्माण कार्य अघि बढन नसकेपछि एक वर्ष अघि मात्र मधेश प्रदेशका अर्थमन्त्री साहले आफ्नो संसदीय विकास कोषबाट २५ लाख र प्रदेश सभासदस्य मनिष सुमनले ८ लाखको सहयोग उपलब्ध गराएका थिए । यस्तै विष्णुपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी शाखाको अक्षयकोषबाट ५÷५ लाख, कोसी वेसिन कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस केन्द्रीय कार्यालयले ७ लाख, तिरहुत गाउँपालिकाले ४ लाख तथा रेडक्रस सोसाईटी शाखा सप्तरीले १५ लाखको सहयोग उपलब्ध गराएपछि निर्माण कार्य अघि बढेको रेडक्रस सोसाईटी शाखा सप्तरीका सदस्य जगदीश अर्यालले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इशरत प्रवीण, शम्भुनाथ नगरपालिकाका प्रमुख जीतेन्द्र गुप्ता, रेडक्रस सोसाइटी उपशाखा राजविराजका सभापति एंव प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले प्राकृतिक विपद् को सामना गर्नु पूर्वतयारी स्वरुप नवनिर्मित भण्डार गृहले ठूलो मदत पु¥याउने विश्वास व्यक्त गरे । विभिन्न प्राकृतिक प्रकोपले बढी प्रभावित हुने गरेको सप्तरीमा विभिन्न दातृ संस्थाले दिने सहयोग सामग्री सुरक्षित राख्न भवनको अभाव खटकी रहेको बेला ढिलै भएपनी निर्माण कार्य सम्पन्न भएकोमा सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=27KHrXfgOBA

Comment


Related News

Latest News

Trending News