नेकपा एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।
आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसीमा छुटाएको हो ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।
क्षेत्रीय कमिटीले १० भदौ भित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौभित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाईएको उहाँले बताउनुभयो ।
प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रीय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।
यसरी टुंगो लगाइएका उम्मेदवारहरुलाई सत्तारुढ गठबन्धनको सिटवाँडफाट अनुसार गठबन्धनबाट उम्मेदवार घोषणा गरिने उहाँको भनाई छ । उहाँका अनुसार कतिपय जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मदेवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।