अपडेट 
२०७९ भाद्र ११, शनिबार ०८:०२

राजविराज । कोभिड – १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशीको वितरण प्रक्रियामा धांधली गरिएको भन्दै आक्रोशित स्थानीयवासीले वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

वास्तविक पीडित भन्दा पनि आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएपछि स्थानीयवासीले शुक्रबार राजविराज नगरपालिका –४ को वडाअध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले कोभिड १९ बाट पीडितका लागि प्राप्त सहयोग वितरण गर्नुभन्दा पूर्व सिफारिस गरिएका नामको छानबिन गरी त्रुटि सच्याउनु पर्ने माग गरेका छन् । त्रुटि नसच्याएसम्म तालाबन्दी जारी रहने स्थानीयवासी बसन्त साहको भनाइ छ । वडा कार्यालय अगाडि प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रुटि रहेको दाबी गर्दै सोको छानबिन गरी त्रुटि सच्याउनु पर्ने माग गरेका छन् ।

उनीहरुले वडा अध्यक्ष दिनेशप्रसाद साहले सहयोग राशीका लागि सिफारिस गरेको नामावली विवरणमा वडा सदस्यमा निर्वाचित भएका देखि एकै परिवारका तीन/तीन जनासम्म समावेश गरिएको बताए । यसअघिका वडा अध्यक्ष अख्तर अली बाबाले गरेको सिफारिसलाई उल्टयाइ नवनिर्वाचित वडा अध्यक्ष साहले मनपरी ढंगले नया नामावली तयार गरेको तथा वास्तविक पीडित माथि अन्याय भएको पीडित महिला रधियादेवीको भनाइ छ । वडा अध्यक्ष साहले अघिल्लो वडा अध्यक्षले गरेको सिफारिसमा एउटै परिवारका दुई जनासम्मको नाम परेकाले नामावलीमा केही संशोधन गरेको बताए । ५३ जनाको नाममात्र सिफारिस गर्नुपर्ने ठाउँमा ५ सय जनाको आवेदन परेका कारण सबैको चित्त बुझाउन नसकिएको भन्दै यदी केही त्रुटि रहे छ भने वार्डको बोर्ड बैठकमार्फत सच्याउने उनले बताए ।

Comment


Related News

Latest News

Trending News