
जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान संयोजक प्रभाकर यादवसहित करिब एक हजार नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित एक समारोहकाबीच यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन्।

जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेताकार्यकर्ता सदस्यता प्रदान गरी माला, गम्छा, टीका लगाएर पार्टी प्रवेश गराएका थिए।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वजिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नामस्ता गाउँपालिकाकी निवर्तमान वडाध्यक्ष प्रमीला यादव, विवेकशील पार्टीका केन्द्रीय सदस्य सुमन कुमार मिश्रलगायत करिब एक हजार नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेको जसपा सप्तरीका प्रचार विभाग प्रमुख बृजमान तामाङले जानकारी दिएका छन्।
जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा आयोजित बृहत् पार्टी कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रवक्ता तथा प्रदेशसभा सदस्य मनिश सुमन,पार्टीका राजनैतिक समिति सदस्य एवम् मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.सूर्य नारायण यादव, प्रदेशसभा सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरूसहित जनप्रतिनिधि लगायतका पार्टीका केन्द्र प्रदेश जिल्ला, स्थानीय तहका विभिन्न तहका जसपा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।