अपडेट 
२०७९ भाद्र १३, सोमबार ०७:१८

प्रदेश तथा प्रतिनिधी सभाका महिला सांसदहरुले राजनीतिक दलहरु महिलालाई विभेदपूर्ण व्यवहार गर्दै आएको आरोप लगाएका छन् । मधेश प्रदेशको महिला बालबालिका तथा सामाजिक न्याय समितिका तथा नेपाल एफएमको सहकार्यमा आईतवार प्रदेश सभाको हलमा भएको एक अन्तरक्रिया कार्यक्रममा महिला सांसदहरुले यस्तो आरोप लगाएकी छन् ।

विभिन्न राजनीतिक दलहरुले महिलालाई पार्टी भित्र कुनै नेतृत्व नदिई महिलालाई विभेदपूर्ण व्यवहार गर्दै आएको उनीहरुको भनाई थियो । उनीहरुले निर्वाचनमा महिलाको लागि आरक्षण सिटको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा पूर्व मन्त्री चित्रलेखा यादवले नेपालको राजनीतिमा अहिलेपनि महिला विभेदको सिकार बन्दै गरेको आरोप लगाईन् । निर्वाचनको टिकट वितरणमा पुरुषलाई विभिन्न राजनीतिक दलहरुले प्राथमिकता दिने गरेको उल्लेख गर्दै सचेतक यादवले भनिन्,‘ प्रत्यक्षभन्दा समानुपातिकमा महिलालाई टिकट दिने परम्परा देखिन्छ । त्यो पनि संवैधानिक व्यवस्थामा ३३ प्रतिशत महिलालाई आरक्षण दिएकोले नत्र त्यो व्यवस्था तोकिएने हो भने महिलाहरुले त्यति पनि पाउने थिएनन् ।’ समानुपातिक तथा प्रत्यक्ष निर्वाचितका बीचमा संवैधानिक रुपमा कुनै विभेद नभएपनि व्यवहारिक रुपमा विभेद हुने गरेको उनले बताईन । नेकपा एमालेका सासद डा. बिन्दा पाण्डेले महिलाको सहभागिता सुनिश्चितताका लागि प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्र तथा प्रदेश सभाको ३ सय ३० प्रत्यक्ष निर्वाचन हुने क्षेत्रमा समान तथा समानुपातिक सहभागिताका लागि आवाज उठेपनि व्यवहारमा कार्यान्वयन नभएको बताईन ।

नेकपा माओवादी केन्द्रका सांसद अञ्जना विशंखेले राजनीतिक दलहरुले मिसन पोल्टीक्स छोडेर पावर पोल्टीक्समा लागेको आरोप लगाईन । पार्टीहरुले महिला सासदहरुलाई अझै स्टापको रुपमा प्रयोग गर्ने गरेको उनले आरोप लगाईन । लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)की प्रदेश सांसद सुरिता साहले महिलालाई अझै कमजोर ठान्ने प्रवृति हाम्रो समाजमा व्याप्त रहेको बताईन । पुरुषभन्दा महिला सासदले सभामा बढी समय दिने गरेको बताउँदै उनले भनिन्,‘सभा चलाउन महिलाहरुले नै गणपुरक संख्या पुर्याउन छन् । तर पनि दलहरुले महिलालाई अवसर नदिदाँ महिलाहरु पछाडि पर्ने गरेका छन् ।’ प्रदेश सभाका सदस्य रानी शर्मा तिवारीले महिलाहरू आर्थिक रुपमा सबल नभएका कारणले पछाडि परेको बताउँदै महिलाका लागि निर्वाचन क्षेत्र नै आरक्षण गर्नु पर्ने धारणा राखे । नेपाली कांग्रेसका प्रदेश सभाका सदस्य सरस्वती चौधरीले समानुपातिकलाई दोस्रो दर्जाको सांसदको रुपमा लिने गरेका कारणले प्रत्यक्षमा महिलालाई आरक्षणको व्यवस्था हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरु डिल्ली प्रसाद उप्रेतीले महिलाहरुको लागि आरक्षण सिटको व्यवस्था हुनुपर्नेमा जोड दिए । मधेश प्रदेशका महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राईनको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा अधिवक्ता रेखा झासहितले मन्तव राखेका थिए ।

Comment


Related News

Latest News

Trending News