अपडेट 
२०७९ भाद्र १३, सोमबार ०७:२२

राजर्षि जनक विश्वविद्यालयमा पुनः तालाबन्दी गरिएको छ । आइतबार पेपर कन्ट्रयाक्ट शिक्षकहरुले विश्वविद्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।

उनीहरुले विश्वविद्यालय प्रशासन र विज्ञहरुले तयार पारेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका छन् । उनीहरुले कार्यवाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यवाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्वीरमा आगजनी गर्नुका साथै विज्ञले सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका छन् । यसअघि १ भदौमा शिक्षकहरूले भिसी र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला अझै खोलिएको छैन् । शिक्षकहरूको समस्या समाधान गर्न वैशाख ६ मा उनीहरूसँग वार्ता गरी वैशाख ९ मा डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरेको थियो । वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भएपनि भिसी र रजिस्ट्रारले काठमाण्डुका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः विवाद भएको बताइन्छ । उनले तयार गरेको प्रतिवेदन सार्वजनिक नै न गरी शिक्षकहरूको समस्या समाधान गर्न कुनै चासो नदेखाएको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले जानकारी दिए । उनका अनुसार पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीमा भएको व्यवस्थाअनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तिलाई प्राथमिकतामा राखी यथाशीघ्र उपयुक्त र आवश्यक कार्य गर्नुपर्ने सम्झौता भएको थियो ।

यस्तै, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनका लागि नियमावलीको व्यवस्थाअनुरूप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य तीव्र पार्ने, वर्तमान पेपर कन्ट्रयाक्ट शिक्षकको व्यवस्थालाई नियमानुसार यथाशीघ्र पुनरावलोकन गरिने र विश्वविद्यालयका पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार सेवा प्रवेश गर्न एक पटकका लागि उमेरको हदबन्दी हटाउने व्यवस्था मिलाउने सहमति भएको थियो । उक्त सहमती कार्यान्वयन नगरिएको शिक्षकहरूको आरोप छ । शुक्रबार विश्वविद्यालय प्रशासनले तालाबन्दी नगर्न शिक्षकहरुसँग अनुरोध गरेको थियो । प्रशासनले उनीहरुको माग सम्बोधन हुने प्रकृयामा रहेको बताएका छन् । यता शिक्षकहरुले प्रशासनतर्फ तालाबन्दी गरेपनि पठनपाठन जारी नै राखेका छन् । तालाबन्दी अघि माग पूरा गर्न विश्वविद्यालय प्रशासनलाई उनीहरुले ज्ञापनपत्र र सूचनामार्फत जानकारी गराएको थियो ।

Comment


Related News

Latest News

Trending News