सोमबार पनि गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
आजको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेकय पारित गर्ने कार्यसूची रहेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ निर्णयार्थ प्रस्तुत गर्दा सांसद घनश्याम खतिवडाले नियमापत्ति गरेका थिए ।
उनले संविधानको धारा ९४ अनुसार गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । उनले यस्तो महत्वपूर्ण विधेयक पारित गर्दा गणपूरकसंख्या आवश्यक हुने उनको भनाइ थियो ।
त्यसपछि सांसदहरूको संख्या गणना गर्दा ४५ जना मात्रै उपस्थित रहेका थिए । प्रतिनिधि सभाबाट कुनै पनि प्रस्ताव वा निर्णय गर्दा कम्तिमा ६९ जना सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार, गणपूरक संख्या नभएको भन्दै सभामुख सापकोटाले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।