२०७९ भाद्र १४, मंगलवार ०७:४२

सप्तरीमा जेलका कैदी र मानव अधिकारकर्मीले तीज मनाएका छन् ।

राजविराजस्थित जिल्ला कारागारभित्रका महिला कैदीबन्दीहरूलाई सोमबार दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् । तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् । समारोहमा समितिका पदाधिकारीहरूले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिका लगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारागार प्रमुख किशोर रामले जानकारी दिए । सो अवसरमा कारागारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको छ । अधिकारकर्मीहरूले कैदीबन्दीको समस्या बारे जानकारी समेत लिएका छन् । जम्मा १ सय ५५ क्षमता भएको कारागारमा हाल १६ महिला, १ आश्रित बालक र ३ सय ७१ पुरुष कैदीबन्दी छन् । सामूहिक रूपमा अधिकारकर्मीहरूले सम्झेर आउँदा उत्साहित र भावुक देखिएका महिला कैदीबन्दीले अधिकारकर्मीहरूलाई धन्यवाद र आशीर्वाद दिए । तीजका वेला कोही दिदी बहिनी पनि माइती सम्झेर निन्याउरो भएर बस्नु नपरोस् भन्ने सन्देश दिन विगत केही वर्षदेखि अधिकारकर्मीहरुले बाहिर निक्लिन नपाउने कारागारका महिला बन्दीहरुसँग तीज मनाउन थालेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए । वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तीज मनाउन नपाएका महिलाहरूसँग खुशी साटासाट गर्न कार्यक्रम गरिएको एकल महिला समूहकी प्रदेश अध्यक्ष अनिता देवकोटाले जानकारी दिइन् ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, पत्रकार पुनम पोखरेल, महिला शिक्षकरत्ना गुरुङ, मेची महाकाली बुहारी संयुक्त आवाजकी मीरा गुरुङ, सामाजिक कार्यकर्ता उमेश यादव लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News