घरेलु मदिरा उत्पादन र विक्री वितरणमा कडाई गरेको प्रहरीले सोमवार २ सय लिटर मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
दिउसो ४ बजे तिर सवारी चेक जाँचको क्रममा सप्तरीको सुरुंगा नगरपाकिाको कदमाहा– गाईघाट सडक खण्डमा विभिन्न सवारी साधनबाट उक्त परिमाणको घरेलु मदिरा बरामद गरी सशस्त्र प्रहरीले नष्ट गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाका अनुसार सुरक्षा वेश क्याम्प कडरबोनाबाट खटि गएका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद चौधरी नेतृत्वको टोलीले विभिन्न सवारी साधन चेक जाँचको क्रममा उक्त घरेलु मदिरा बरामद गरेको छ । उनले घरेलु मदिरा उत्पादन, विक्री वितरण र ओसार पसार गर्नेलाई जरिवाना तथा अन्य सजाय हुने कानूनी ब्यवस्था रहेको बताए । प्लास्टिकको भाँडोमा राखी लैजादै गरेको उक्त घरेलु मदिरा सोमवार नै सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प कडरबोनामा ल्याइ वडा अध्यक्ष दिलाराम चौधरी, सशस्त्र प्रहरीका वेशपती सहायक प्रहरी निरीक्षक धमेन्द्र सिंह भण्डारी, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी अधिकारी तथा स्थानीयको रोहवरमा नष्ट गरीएको छ । विभिन्न अपराधिक घटना न्यूनीकरण गर्न घरेलु मदिराको उत्पादन र विक्री वितरणमा कडाई गरिएको सशस्त्र प्रहरी उपरीक्षक खडकाको भनाइ छ ।

