धनुषाको नगराइन नगरपालिकाको नगरसभा गराउन स्थानीयले प्रदर्शन गरेका छन् ।
सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता र स्थानीय जनताहरुले नेतृत्व विरुद्ध प्रदर्शन गरेका छन् । नगरसभा गराउन र जनता समक्ष जनप्रतिनिधिहरुले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग गर्दै पालिका घेराउ गरिएको लोसपाका नेता राजु चौधरीले बताए । शान्तिपूर्ण रुपमा पालिका घेराउ कार्यक्रम आयोजना गरी पुनः पालिका प्रमुखको ध्यानाकर्षण गराएको उनले जनाए । अबको सहमति अनुसार काम नभए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । लोसपाले नगर प्रमुख विनय यादवलाई यस अघि तीन पटक ज्ञापनपत्र बुझाएको थियो । सोही ज्ञापनपत्रमा भदौं १० गतेसम्म नगरसभाको मिति तोक्न अल्टिमेटम दिइएको थियो । अल्टिमेटम अनुसार माग पूरा नहुँदा पालिका घेराउ गरिएको थियो । नगर प्रमुख यादवले पालिकामा बहुमत र अल्पमतको बखेडा भइरहेको बताए । जनताको साथमा भए पनि बहुमत नहुँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे । तर भदौ अन्तिम साता सम्म नगरसभाको मिति तोक्ने उनले प्रतिवद्धता गरे । ‘अर्को पक्षले अडान लिएको छ । पहिला नीति ऐन संशोधन गर्न अडानमा छन्,’उनले भने,‘तर अव धेरै ढिलो भयो । भदौ अन्तिम साता सम्म बहुमत नजुटेपनि नगरसभाको मिति तोकिने छ ।’ पालिकामा नेकपा एमालेको बहुमत छ ।

